काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आइतबार समितिमा पेस गर्ने भएको छ । शुक्रबार प्रतिवेदन लेखनको काम सकिएकाले आइतबार समिति बैठकमा पेस गरिने उपसमितिका एक सदस्यले बताए । प्रतिवेदनमा ईसीडीको विषयमा भने सहमति भएको छैन ।
बालविकासलाई विद्यालय तहमा ल्याउने वा स्थानीय तहमा राख्ने भन्नेमा कुरा मिल्न सकेको छैन । ईसीडीलाई विद्यालय मातहत राख्न सहमत भए पनि दुई वर्षे ईसीडी र शिक्षकको दरबन्दीमा कुरा नमिलेको हो । ईसीडीका शिक्षकको दरबन्दी स्थानीय तहलाई नै दिनुपर्ने प्रस्ताव मन्त्रालयले राखेको सदस्यहरूको भनाइ छ ।
सांसदहरूले अरु शिक्षक सरह हुनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो । अब सहमति नभएको विषयमा समितिमा छलफल हुनेछ । विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । समय आज सकिएको छ ।





