काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि निरन्तरता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति भएको दुई घण्टा लामो भेटवार्तापछि पनि परिस्थिति सकारात्मक नदेखिएको भन्दै महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँगको संवादबारे जानकारी दिँदै, शिक्षकका मागहरू स्पष्ट र शिष्टतापूर्वक राखिए पनि सरकारको दृष्टिकोणमा अपेक्षित परिवर्तन नदेखिएको उल्लेख गरेका छन् । ‘हामी एक-दुई साना माग पूरा भए भनेर चुप लाग्ने होइनौं । हाम्रो आन्दोलनको मूल उद्देश्य विगतका सहमति सम्बोधन गर्दै स्पष्ट ऐनमार्फत शिक्षकको हक र अधिकार सुनिश्चित गर्नु हो,’ अध्यक्ष सुवेदीले लेखेका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा शिक्षक-कर्मचारीका माग, विद्यालय शिक्षा ऐन जारी गर्ने आवश्यकता र आन्दोलनका कारण उत्पन्न परिस्थिति लगायतका विषयमा गहन छलफल भएको थियो । प्रधानमन्त्री ओलीले सरकारले सम्बोधन गर्न सक्ने विषयमा छलफल गरेर निर्णय लिने र ऐन जारी गर्न तत्परता देखाउने आश्वासन दिए पनि महासंघले आन्दोलनको विकल्प अहिले देख्न नसकेको जनाएको छ ।





