शिक्षकको आन्दोलनबारे लन्डनमा चर्चा, विश्व समुदायको ध्यानाकर्षण



काठमाडौं। बेलायतको लन्डनमा जारी इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशनको चालु विश्व कार्य समितिको बैठकमा काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनबारे चर्चा भएको छ। नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कार्य समिति सदस्य तथा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपालभरका शिक्षकहरुले काठमाडौंमा गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिला गरेकोप्रति आपत्ति जनाएका हुन्।

गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउने लगायतका विभिन्न मुद्दामा भएको सम्झौता सरकारले कार्यान्वयन नगर्नाले शिक्षकहरु पुनः सडक आन्दोलनमा उत्रिँदा विश्व समुदायमा नकरात्मक सन्देश गएको जिकिर उनले गरे। राईले राज्य, राजनीतिक दलका केही नेताहरु श्रमिकहरुप्रति अनुदार रहेको पनि उल्लेख गरे। फागुन १ गते सर्वोच्च अदालतको बैंक वित्तीय संस्थाहरुमा अबबाट श्रम ऐन प्रभावित नहुने ब्याख्याले सार्वजनिक क्षेत्रको युनियन आन्दोलन समस्यामा पर्ने देखिएको उनले बताए।

त्यस्तै, गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउने लगायतका विभिन्न मुद्दामा भएको सम्झौता सरकारले लागू नगरेकोले यस वर्ष पनि हजारौंको संख्यामा शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको बैठकमा जानकारी गराएका थिए। शिक्षकहरुको आन्दोलनमा एजुकेशन इन्टरनेशनललगायत नेपालका सबैजसो युनियनहरुले ऐक्यबद्धता जनाइसकेको अवस्थामा सरकार गम्भीर नभएकाले श्रमिक आन्दोलनप्रति राज्यको दृष्टिकोण सकारात्मक नदेखिएको उनको भनाइ थियो।

महासचिव राईले नेपालका मुद्दाहरुबारे जानकारी गराउँदै आवश्यक सहयोगको अपिल समेत गरे। नेपालका मुद्दा उठाएलगत्तै फेडेरेशनका अध्यक्ष पेडडी क्रुमलिनले नेपालको श्रमिक आन्दोलन समस्यामा परेका जानकारी गराएकोमा धन्यवाद दिएका थिए।

त्यस क्रममा उनले नेपाली श्रमिक, शिक्षक तथा फाइनान्स क्षेत्रका श्रमिकहरुप्रति आइटीएफको सद्भाव तथा सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार