अब बन्ने कानुन तथा नीतिमा ईसीडीदेखि कक्षा ३ सम्मलाई एउटै तह बनाउनु पर्ने सुझाब दिइएको छ । पठनपाठनसम्बन्धी विज्ञ सम्मिलित अध्ययन समितिले ईसीडीदेखि कक्षा ३ सम्म एउटै शिक्षक हुनुपर्ने सुझाब सहित एउटै तह बनाउन सुझाब शिक्षा मन्त्रालयलाई दिएको हो ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा संयोजकत्वको समितिले दीर्घकालमा बन्ने कानुनमा आधारभूत तहको पहिलो शिक्षक ईसीडीदेखि कक्षा तीनसम्म एउटै शिक्षक हुनुपर्ने र इसिडीदेखि कक्षा ३ सम्मलाई एउटै बनाउनु पर्ने सुझाबसहित प्रतिवेदन बुझाएको छ ।
शर्माले अहिले इसिडीलाई छुट्टै राखिएको र जसरी कक्षा १ देखि ५, कक्षा ६ देखि ८ लाई आधारभूत तहमा राखिएको छ, त्यसैगरी इसिडीदेखि कक्षा ३ सम्मलाई आधारभूत तहमा राखेर शिक्षकको व्यवस्था गर्नुपर्ने सुझाब दिइएको बताए । उनले यो तहमा विषयगत शिक्षक नहुने र एउटै शिक्षक हुने बताए ।
त्यसैगरी अब नियुक्त हुने शिक्षकहरूको योग्यता कक्षा १२ पास गरेको हुनुपर्ने प्रतिवेदनमा सुझाब रहेको उनको भनाई छ । उनले भने ‘अहिले भएका हट्ने भनिएको होइन । कतिपय अहिले भएका धेरै शिक्षकहरूको योग्यता पुग्छ, अब नयाँ राख्दा कक्षा १२ पास गरेको हुनुपर्छ भनिएको छ । पहिला नीतिगत निर्णय हुनुपर्यो, त्यसपछि अहिले भएका तर योग्यता नपुगेकालाई के गर्ने भन्ने कुरा हो । तर, अहिले ऐनले गरेको व्यवस्था अनुसार नै जानुपर्छ ।’
त्यसैगरी ५ वर्ष पुरा भएका बालबालिकालाई ईसीडीमा भर्ना गर्न नपाईने र सिधै कक्षा एकमा भर्ना गर्नुपर्ने सुझाब दिइएको बताए । अभिभावकले ५ वर्ष भन्दा कम उमेरका बालबालिका ल्याएको खण्डमा मात्रै इसिडिमा राख्न सकिने उनको भनाई छ ।
साथै ३६ महिनाको बालबालिकालाई डे केयरमा राख्नुपर्ने र ४८ महिनाको बालबालिकालाई इसिडिमा राखेर सिकाउन सकिने भनिएपनि उनिहरूलाई पढाउन, किताब किन्न लगाउन, परीक्षा लिन र ग्रेडमा विभाजन गर्न नमिल्ने सुझाब दिएको शर्माले जानकारी दिए ।





