समस्याग्रस्त सुमेरु सहकारीमा सरकारले लगायो ताला



पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिटको अपरेटिभलाई सरकारले शिल गरेको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत गठन भएको समस्याग्रस्त व्यवस्थापन गरी समितिको कार्यालय आज उक्त संस्थालाई शिल गरेको हो । समितिका अध्यक्ष प्रभात अधिकारीले सुमेरु सहकारीलाई शिल गरेर सम्पूर्ण सिष्टमलाई लक गरिएको जानकारी दिए ।

संस्थाको सम्पूर्ण कागजातका साथै सिष्टम लक गरेर सम्पत्ति, दायित्व र ऋण लगानीको बारेमा अध्ययन गर्ने उनले बताए । कार्यालयले संस्थाको सञ्चालक समितिलाई निलम्बन गर्दै सम्पूर्ण अधिकारी आफुमातहात लिएको उनले जनाए । कार्यालयले संस्थाको न्युनतम हिसाब किताब जाँच गर्ने,अडिट गर्ने र सम्पत्ति बेचविखन गरेर सदस्यहरुको बचतफिर्ता गर्ने जनाएको छ । काठमाडौंमा सुमेरु नामका तीन वटा सहकारी संस्था सञ्चालनमा रहेको भए प्रत्येक संस्थाको सञ्चालक समिति भने फरक -फरक रहेको पाइएको छ ।

समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरुको अडिट गर्दा धनात्मक देखियो भने विशेष साधारण सभा गरेर नयाँ सञ्चालक समितिलाई सञ्चालन गर्न दिन सकिने र संस्था ऋणात्मक देखिएको खण्डमा कार्यालयले नै जिम्मेवारी लिएर प्रक्रिया अगाडि बढाइने उनको भनाई छ । मन्त्रालयले केही दिन अघि मात्र सुमेरु सहित अन्य दुई संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । सुमेरुले सदस्यहरुको ११ अर्बको हारहारीमा बचत संकलन गरी अपचलन गरेको पाइएको छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार