कर्णाली बैंकको घटनापछि ४ विकास बैंक र २ फाइनान्समाथि राष्ट्र बैंकको आँखा



कर्णाली डेभलपमेन्ट बैंकको घटनापछि नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी समेत गरी ६ वटा वित्तिय संस्थाको तरलता अवस्था विश्लेषण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यही साता वाणिज्य बैंकहरूलाई पत्र काट्दै ती ६ संस्थाले वाणिज्य बैंकहरूमा निक्षेप राखेको छ कि छैन भन्दै सूचना माग गरेको हो ।

अनुशन्धानको क्रममा कर्णाली डेभलपमेन्ट बैंकले वाणिज्य बैंकमा निक्षेप राखेको भन्दै फर्जी निक्षेप प्रमाणपत्र राष्ट्र बैंकमा पेस गरेको खुलेको थियो । राष्ट्र बैंकले १० पुसमा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । सोही घटनापछि केन्द्रीय बैंक वित्तीय अवस्था कमजोर बन्दै गएका ६ वटा संस्थामाथि निगरानी बढाएर तरलता अवस्था बुझ्न सुरु गरेको हो ।

‘४ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीको निक्षेपको अवस्था बुझन् वाणिज्य बैंकलाई पत्र काटिएको छ,’ सम्बद्ध स्रोतले भन्यो, ‘यही साता काटेको पत्रको जवाफ प्राप्त भइसकेको छैन ।’

स्रोतका अनुसार राष्ट्र बैंकले सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सिन्धु विकास बैंकको तरलताको अवस्था विश्लेषण गर्न सुरु गरेको छ ।

यस्तै फाइनान्स कम्पनीतर्फ जानकी फाइनान्स र पोखरा फाइनान्सको विवरण वाणिज्य बैंकहरूसँग माग गरेको हो ।

वित्तीय अवस्था कमजोर देखिएको र संस्था सुशासनमा समस्या देखिएको बैंकहरूको तरलता अवस्था विश्लेषण गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

‘कुनै एक्सनमा जानुअघि संस्थाको तरलता अवस्था बुझ्न लागिएको हो । तरलता अवस्था सामान्य भए बैंक व्यवस्थापनबाट नै सुधार गर्ने कोसिस हुन्छ,’ स्रोतले भन्यो, ‘यी संस्थाको अवस्था यकिन गरेपछि कसरी सुधारमा लैजाने भन्ने निर्णय हुन्छ । समस्याग्रसत घोषणा गर्नेभन्दा बैंककै व्यवस्थापन मार्फत सुधार गर्ने कोसिस रहन्छ ।’

राष्ट्र बैंकले २०७० को दशक सुरुवातमा १६ बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्दै त्यसको व्यवस्थापन गरेको थियो । समस्याग्रस्त संस्था व्यवस्थापन विभाग नै गठन गरेर ती संस्थाको व्यवस्थापन हेरेको थियो ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार