नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दिउँसो पहिलो क्वालिफायर भिडन्त हुँदैछ। प्रतियोगितामा अब्बल देखिएका सुदूरपश्चिम र जनकपुरले तालिकाको पहिलो र दोस्रो स्थान बनाउँदै पहिलो क्वालिफायरमा भेट पक्का गरेका हुन्। सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो।
१० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो। पहिलो क्वालिफायरमा विजेता टिम सिधै फाइनल पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ।
दोस्रो क्वालिफायरमा इलिमिनेटरमा विजयी टिमसँग प्रतिस्पर्धा गर्दै पहिलो क्वालिफायरमा पराजित टिम फाइनल पुग्नसक्छ। तर दोस्रो क्वालिफायरमा पराजित भएमा तेस्रो स्थानमा चित्त बुझाउनुपर्नेछ। दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२:१५ बजे सुरु हुनेछ।
प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार





