विराटनगरविरुद्ध कर्णालीको रोमाञ्चक जित



नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्समाथि सात रनको रोमाञ्चक जित निकालेको छ। चार खेलमा कर्णालीले दोस्रो जित निकालेको हो। विराटनगर भने तीन खेलमा पराजित भइसकेको छ।

कर्णालीले दिएको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले ८ विकेटको क्षतिमा १२६ रन मात्र जोड्न सक्यो।

विराटनगरले राम्रो ओपनिङ गर्न सकेन। ओपनिङ ब्याटर मार्टिन गप्टिल दोस्रो ओभरमा विपिन शर्माको बलमा चार रनमै आउट भए। अर्का ओपनर लोकेश बमलाई पनि १९ रनमा विपिनले नै आउट गरे।

त्यसपछि अकिब इल्यास आठ रन र नरेन भट्ट सात रनमा आउट भए। इल्यासलाई नन्दन यादवले बोल्ड गर्दा नरेन विलियम बोसिस्टोको एलबिडब्लूको धरापमा परे। बसिर अहमदलाई युनिस ठकुरीले ८ रनमा आउट गरे।

१८औं ओभरमा नन्दन यादवले दुई विकेट लिन सफल भए। उनले निकोलास किर्टोनलाई ४० रन र दीपक बोहरालाई १८ रनमा बोल्ड गरे। १९औं ओभरको दोस्रो बलमा सोपमाल कामीले क्रिस सोललाई शून्यमा पेभिलियन फर्काए।

अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चााहिएको थियो। ब्याटिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसी थिए। कर्णालीका लागि नन्दन यादवले बलिङ गरेका थिए। जसमा पहिलो बलमा सन्दीपले एक रन लिए। दोस्रो बलमा प्रतिशले दुई रन लिन सके। तेस्रो बलमा पनि दुई रन नै लिए। चौथो बल डट भयो। पाँचौ बलमा प्रतिशले एक रन लिए। अन्तिम बलमा सन्दीपले एक रन लिँदा खेल कर्णालीले सात रनले जित्यो।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार