शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल, कार्यालय सहयोगी) को पेसागत समस्याप्रति संवेदनशील रहेको बताउँदै तलब तथा सेवासुविधा वृद्धिबारे पटकपटक अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको बताएकी छन्।
कात्तिक २९ गते शिक्षा पत्रकार समूहले राजधानीमा गरेको ‘शिक्षा बहस’ कार्यक्रममा शिक्षामन्त्री भट्टराईले ईसीडी शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दाबारे प्रतिबद्ध र संवेदनशील रहेको जनाउँदै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताइन्।
‘विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को सेवासुविधाको कुरा लिएर अर्थमन्त्री विष्णु पौडेलकहाँ झन्डैझन्डै पाँचपटक गइसकेँ। फेरि जान्छु। बजेट बनाइसकेपछि म मन्त्री भएँ। ईसीडी शिक्षक र विद्यालय कर्मचारीको कुरा त बजेटमा आएन। अहिले जुन बजेट चलाइरहेका छौँ त्यसमा सेवासुविधाका कुरै छैन। ईसीडी शिक्षक र विद्यालय कर्मचारीको मुद्दालाई कार्यान्वयन गर्नका लागि अर्थ मन्त्रालयलाई भनिसकेको छु। फेरि पनि भन्नेछु। अनुरोध गर्नेछु,’ उनले भनिन्।





