पहिचानमा आधारित इतिहासलाई उजागर गर्ने माध्यम संगीत : उपप्रधानमन्त्री श्रेष्ठ



ललितपुर । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम संगीतमा छ भन्ने धारणा राख्नुभएको छ। जेठ पूर्णिमाकाे दिनलाई राष्ट्रिय संगीत दिवस घाेषणा गर्ने प्रस्ताव सम्बन्धी ललितपुर महानगरपालिका र ललितपुर संस्कृति सम्बर्द्धन केन्द्रले आयाेजना गरेको परामर्श बैठकमा मन्तव्य राख्नुहुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले संगीतमा इतिहास र चेतना छ भन्नुहुँदै संगीत नेपालकाे ऐतिहासिक धराेहर भएको बताउनुभयो ।

“नेपाललाई चिनाउन पनि संगीत दिवस घाेषणा गर्ने कार्य महत्त्वपूर्ण छ,नेपालकाे पहिचान संगीतकाे देशका रुपमा उजागर हुुँदै गएकाे छ, अत्यन्तै सुन्दर ओैलामा गन्न सकिने देशमा हाम्रो देश पर्छ, संगीतकाे माध्यमबाट पर्यटनको ठूलाे सम्भावना छ ।” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले संगीतको पक्षकाे बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै केही दिनभित्रै याे प्रस्तावलाई प्रधानमन्त्री समक्ष पुर्‍याउने प्रतिवद्धता जनाउनुभयाे । उहाँले राष्ट्रिय संगीत दिवस घाेषणा गर्ने कार्य ललितपुरको मात्रै सराेकारकाे विषय हैन भन्नुहुँदै साझा सराेकारकाे याे बिषयका लागि प्राथमिकतामा राखेर काम गर्न निरन्तर छलफल र सम्पर्कमा रहनेछु भन्ने विश्वास दिलाउनुभयाे ।

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय संगीत दिवस घाेषणा गर्ने याे प्रस्तान विन्दु भएको भन्नुहुँदै आगामी बर्षकाे जेठ पूर्णिमामा घाेषणा हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले मुर्त तथा अमुर्त सम्पदा संरक्षणमा महानगरमा धेरै काम गरेका छाैं भन्नुहुँदै राताे मच्छिन्द्रनाथकाे जात्रालाई विश्व सम्पदाका रुपमा दर्ज गर्ने बताउनुभयो । “अहिलेसम्म युनेस्कोमा नेपालकाे कुनै पनि अमुर्त संस्कृति दर्ज भएको छैन, हामी यहाँकाे राताे मच्छिन्द्रनाथकाे जात्रालाई दर्ज गराउने छाैं, यसका लागि निरन्तर लागिरहेका छाैं ।” उहाँले भन्नुभयो ।

८९ वर्ष पुग्नै लाग्नुभएका पूर्वमन्त्री तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले म पनि संगीतमा लागेकाे हुँ भन्नुहुँदै गीतसंगीतले पनि राजनीतिक परिवर्तनमा ठूलाे भूमिका निर्वाह गरेको छ भन्नुभयो । “गीतसंगीतले पनि राजनीतिक परिवर्तन ल्याएकाे छ, म पनि २००४ सालदेखि गीत,संगीतमा लागें, ज्ञानमाला भजनमा मेराे लगाव हाे, मानवीय तथा सम्पूर्ण प्राणीहरुकाे जीवनमा यसकाे ठूलाे महत्त्व छ।

सरकारीस्तरबाट पनि संगीतकाे प्रवर्द्धनका लागि राष्ट्रिय दिवस घाेषणा गरेर काम गर्ने व्यवस्था मिलाउनुपर्छ।” उहाँले भन्नुभयो ।

संस्कृतिविद हरिराम जाेशीले सम्पूर्ण मानव जीवनकाे सभ्यताको प्रारुप भएदेखि नै संगीतकाे महत्त्व स्थापित भएको बताउनुभयो । उहाँले सामवेद संगीतकाे वेद हाे भन्नुहुँदै संगीत विना कुनै व्यक्ति पनि बाँच्न सक्दैन भन्ने धारणा राख्नुभयाे । भगवान बुद्धले ज्ञान प्राप्त गर्ने आधार विनाबाट निस्कने संगीतलाई बनाएको प्रसंगलाई प्रस्तुत गर्नुहुँदै उहाँले संगीतलाई वढवा दिनकाे लागि विगतमा नेपालका शासकहरुले पनि लिच्छविकालमा गुठी स्थापना गरेका थिए भन्ने जानकारी गराउनुभयाे ।

संस्कृति सम्बर्द्धन केन्द्रका अध्यक्ष वदनलाल न्याछ्याेंले नेपाली संगीतकाे विकासक्रमलाई उजागर गर्दै जेठ पूर्णिमाका दिनलाई राष्ट्रिय संगीत दिवस घाेषणा गरेर संगीतकाे माध्यमबाट देशकाे बहुआयामिक पक्षलाई उजागर गर्नसकेको खण्डमा महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार