पिठुवा खानेपानीको अध्यक्षमा हरिकुमार श्रेष्ठको पल्ला भारी



काठमाडौँ । चितवनको रत्ननगर नगरपालिक वडा नं. १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ समिति गठनको लागी यहि फाल्गुन ६ गते निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए संगै उक्त क्षेत्रमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

निर्वाचनमा अध्यक्ष पदको लागी स्थानिय युवा नेता हरिकुमार श्रेष्ठ र संस्थाकै निवर्तमान सचिव बासुदेव लामिछाने मैदानमा छन् । सो क्षेत्रमा क्रियाशील छ वटा राजनीतिक दलहरु गठबन्धन बनाएर चुनावमा होमिएका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रले एकआपसमा गठबन्धन गरि उम्मेदवार खडा गरेका छन् भने अर्को तर्फ नेपाली कांग्रेस, राप्रपा, रास्वपा र ए. समाजवादी गरि चार दलिय गठबन्धन बनेको छ ।

चारदलीय गठबन्धनले ए. समाजवादीका नगर अध्यक्ष समेत रहेका हरिकुमार श्रेष्ठलाई अध्यक्ष पदमा अगाडी सारेको छ भने एमाले- माओवादी गठबन्धनले संस्थाकै निवर्तमान सचिव वाशुदेव शर्मा लामिछानेलाई अगाडी सारेको छ ।

रत्ननगरको १४,१५ र १६ मा खानेपानी वितरण गर्दै आएको सो संस्थाको नयाँ कार्यसमिति गठनको लागी यस अघि नै तिनै वडाबाट दलीय रुपमा २२३ जना परिषद सदस्यहरु निर्वाचित गरिएको छ ।

जसअनुसार निर्वाचित हुनेमा नेपाली कांग्रेस र एमालेबाट समान ५४/५४ जना, माओवादी केन्द्रबाट ४० जना, राप्रपाबाट १७ जना त्यस्तै रास्वपा र ए. समाजवादीबाट समान २९/२९ छन् ।

दलहरु बीच भएको गठबन्धन अनुसार एमाले- माओवादी प्यानलमा ९४ मत छ भने चार दलीय गठबन्धनमा १२९ मत छ । अंकगणितीय हिसावले हेर्ने हो भने चारदलीय गठबन्धन एमाले- माओवादी प्यानल भन्दा ३५ मतले अगाडी छ । यसो हुँदा अध्यक्ष पदमा चारदलीय गठबन्धनका उम्मेदवार हरिकुमार श्रेष्ठको जित सुनिश्चित देखिन्छ ।

रत्ननगरकै वडा नं. १४ का पुर्वअध्यक्ष समेत रहेका श्रेष्ठ आफैमा बलिया उम्मेदवार समेत हुन् । स्थानियस्तरमा सहयोगी र स्पष्ट वक्ताको छवी बनाएका श्रेष्ठ झन्डै ३० वर्ष देखि पिठुवाको सामाजिक क्षेत्रमा काम गर्दै आईरहेका छन् ।

खानेपानी संस्था स्थापनाको समयदेखि नै श्रेष्ठको खानेपानी क्षेत्रमा ठुलो योगदान रहेको छ । संस्थाले निकट भविष्यमा गर्नुपर्ने जग्गा खरिद, खानेपानीको ट्यांकी निर्माण, पाईपलाईन निर्माण जस्ता काम सम्पन्न गर्नको लागी पनि श्रेष्ठको जित अनिवार्य रहेको स्थानीयहरू बताउँछन् ।

गत माघ १३ गते आयोजित संस्थाको छैटौं साधारणसभा तथा तेश्रो अधिवेशनको बन्द सत्रले दीपकप्रकाश सिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आगामी ६ निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार