बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते



काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।

भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले बतायो ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।

ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।

स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार