आगामी फागुन १ गतेदेखि विद्यालय र कार्यालयमा ई–हाजिरी



सर्लाही । चन्द्रनगर गााउँपालिकाले पालिकाभित्रका सम्पूर्ण कार्यालय र सामुदायिक विद्यालयमा आगामी फागुन १ गतेदेखि ई–हाजिरीको व्यवस्था मिलाएको छ । गाउँपालिकाका सम्पूर्ण शाखा, केन्द्र, कार्यालय र विद्यालयमा अनिवार्य ई–हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको हो ।

प्रत्येक महिना ई–हाजिरीमा गयल देखिएको दिनको नियम अनुसारको कागजातसहित उचित कारण नभएको अवस्थामा गयल कट्टी हुने गाउँपालिकाले जनाएको छ । सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई–हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालय प्रधानाध्यापक हुनेछन् ।

ई–हाजिरी मेसिनमा कुनै समस्या देखिए गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने गाउँपालिकाको भनाइ छ ।

सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनुपर्ने बताउँदै यस सम्बन्धि ढिलासुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

जनतालाई सेवा प्रदान गर्ने काममा कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरी गुणस्तरीय सेवाप्रवाह गर्नेमा गाउँपालिकाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार