काठमाडौं । आफ्ना बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने स्थिति आएपछि सन्ध्या बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू फरार भएका छन्।
नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको सन्ध्या बचत तथा ऋण सहकारीले पुस २१ गतेबाट बचतकर्तालाई एकपटकमा तीन हजार रूपैयाँसम्म मात्र दिन सकिने बताउँदै आएपनि दिन नसकेपछि सञ्चालकहरू फरार भएका हुन् ।
‘अहिले सञ्चालक मनबहादुर राईले फोन उठाइरहेका छैनन् । फेकबुक पेजसमेत निष्क्रिय राखेका छन्, उनले आफ्नो घरसमेत बिक्री गरेको बुझिएको छ।’
राईले केही दिनअघिसम्म संस्थाको कुल बचत ५ करोड र कर्जा लगानी ४ करोड ५० लाख रूपैयाँ रहेकाले बचत फिर्ता गर्न सकिने बताएका थिए । तर एकाएक सञ्चालक राई फोन अफ गरेर फरार भए । सहकारीले पेप्सीकोला, खुमलटार, इमाडोल र भैंसेपाटीमा शाखा संचालन गरेको थियो ।
यसैबीच अन्य शाखा बन्द भैसकेको चाल पाएपछि भैसेपाटी शाखाका बचतकर्ताहरु बचत फिर्ता माग्न गएपछि उक्त शाखा पनि बुधबारबाट बन्द भएको छ । भैसपाटी शाखामा ७०० भन्दा बढी बचतकर्ताको करोडभन्दा बढी रकम डुबेको बुझिएको छ ।
भैंसेपाटी शाखाका पीडितहरु उजुरी दिन महानगरीय प्रहरी परिसर जावलाखेल जाँदा उजुरी दर्ता नभएपछि सहमती गरेर फर्किएका छन् । प्रहरीले सहकारी विभागमा उजुरी दिन सुझाव दिएको एक पीडितले बताए ।
मुख्य लगानीकर्ता राई रहेको संस्थाको पूर्वअध्यक्षमा पद्मा लिम्बू रहे पनि हाल प्रदीप बराल अध्यक्ष छन्।







