काठमाडौं । काठमाडौंको महाराजगञ्जमा सार्वजनिक गाडीका सहचालकबाट ट्राफिक प्रहरीका सहायक हवल्दारले पैसा लिएको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
बाबा गोकर्णेश्वर यातायातको प्रदेश–३–०१–००६ख ०५८० नम्बरको बसको अघिल्तिर उभिएर सहायक हवल्दारले पछाडि हात लगेका छन् । सहचालकले पैसा गनिरहेको भिडियोमा देखिन्छ ।
साउन ३ गतेको सो घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानविन गरिरहेको छ । प्रारम्भिक छानबिनबाट ट्राफिक प्रहरीले पैसा लिएको पुष्टि नभएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख (डीआईजी) मीरा चौधरीले बताइन् ।
सो गाडी अमृत तामाङले चलाएका थिए । रोक्न निषेध गरेको ठाउँमा चालकले बस रोकेपछि हटाउन खोज्दा पेल्दै बस अघि बढेपछि सहायक हवल्दार गाडीको अघिल्तिर उभिएको डीआईजी चौधरीले बताइन् । उनले भनिन्– ‘पैसा दिएको होइन, सहचालकलाई हामीले बोलाएर सोधपुछ गरेका छौं ।’
सहचालकले ट्राफिक प्रहरीलाई पैसा दिएको कुरा अस्वीकार गरेका छन् । भिडियोमा देखिने सहायक हवल्दार नवराज अधिकारी हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा गएर सह चालकले आफुले अधिकारीलाई पैसा नदिएको भनेर कागज गरेका छन् ।
भिडियोमा ट्राफिकले सहचालकलाई धकेलेर पछाडि पठाएका छन् । सहचालक पछाडि गएपछि अधिकारीले आफ्नो दुई हात पछाडि लान्छन् । एकछिन पछि एउटा हात अघि ल्याएको र सहचालकले पछाडिबाट पैसा राखिदिएको जस्तो देखिने भिडियो ट्विटर र टिकटकमा भाइरल भएको छ ।





