काठमाडौं । चोभारमा रहेको सुक्खा बन्दरगाहबाट निर्यात सुरु भएको छ । मङ्गलवार डेनमार्कका लागि ऊन फ्लेट (ऊनबाट बनेका) एक ट्रक सामान फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट)निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ ।
पहिलो पटक ऊनबाट बनेका सामान पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार एभरेस्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो । ती वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ । उहाँका अनुसार ४३ हजार चार सय ६७ युरो ९५५ लाख ७१ हजार रुपैयाँ बढी० बराबरको नेपाली वस्तु निर्यात भएको हो ।
१५ कन्टेनर सामग्री आयात
चोभारमा निर्माण गरिएको बन्दरगाह गएको चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिकरूपमा उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । बन्दरगाह सञ्चालनमा आएयता १५ कन्टेनरमा सात करोड ३९ लाख रुपैयाँ बढीको सामग्री बरगाहमा भित्रिएका छन् ।
चोभार बन्दरगाहमा अहिले वीरगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तु मात्र सिधै चोभार भित्रन पाउनेछन् ।
यी पाँच भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तु चोभार भित्रने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछन् । सरकारले चोभार सुक्खा बन्दरगाह निर्माणका लागि २०७५ सालदेखि तयारी थालेको थियो । लामो तयारीपछि एक खर्ब ६० करोड रुपैयाँ लागतमा दुई सय ६१ रोपनी जग्गामा बन्दरगाह निर्माण गरिएको हो ।





