भक्तपुर । प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सत्तारुढ गठबन्धनलाई अशुभ गिद्धको संज्ञा दिएका छन् । शनिबार लोकतन्त्र दिवसको अवसरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा सहभागी भएका ओलीले गठबन्धनलाई अशुभ गिद्धकाे संज्ञा दिँदै देशको हालत बिग्रिएकाे आरोप लगाए ।
उनले भने, ‘धुरीमा एउटै गिद्ध बस्यो भने अशुभ मानिन्छ । एउटै गिद्ध बस्दा पनि अशुभ मानिन्छ । पाँच÷पाँचवटा गिद्ध बस्यो भने के हुन्छ । देशको हालत त्यस्तै भएको छ । बजेट काट्ने, अस्पताल काट्ने थप्ने त यिनीहरु गर्दै गर्दैनन् । कुनै डाक्टरले राम्रो काम गर्यो लखेटिहाल्ने, कुनै प्रशासकले राम्रो काम गर्यो लखेटिहाल्ने, कुनै प्रहरीले ड्युटी राम्रो गर्यो भने लखेटिहाल्ने । यो उनीहरुको मति हो तर, चिन्ता मान्नुपर्दैन किनभने देशमा लोकतन्त्र, प्रजातन्त्र आएको छ । जालझेल गरे पनि त्यो गर्न सक्दैनन् ।’
यसअघि एमाले सरकारले राम्रो गरेका कामहरु देखि नसकेर सरकार ढालेको पनि उनले आरोप लगाए । ‘आज अगतिलो सरकार बनेको छ । अगतिलो सरकार बनेपनि गतिलो सरकार बन्न सक्छ । किनकि हामीले लोकतान्त्रिक प्रणाली ल्याएका छौँ । प्रतिक्रियावादी शक्तिहरु चुपो लागेर बस्दैनन्, पराजय सहदैनन् तर, तिनीहरुले सत्ता पाए पनि रा्रमो गर्न सक्दैनन् । नेकपा एमालेको सरकार ढाले, एमालेले राम्रो गरेको देखेर त्रासले सरकार ढाले । उनीहरुले राम्रो काम गर्नुपथ्र्यो नि । राम्रो काम गर्नु छैन,’ उनले भने ।
मन्तव्यको बीचमा गठबन्धन पानीमुनि नै गए पनि ठेगान लगाएरै छाड्ने उनले बताए । साथै, यो गठबन्धनको सरकार १ वर्षभन्दा बढी नचल्ने पनि उनको भनाइ छ । ‘यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ । बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु,’ उनले भने ।





