शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अभियन्ता डा.गोविन्द केसीबीच भेटवार्ता भएको छ । मन्त्री पौडेललाई भेट्न डा. केसी आज मन्त्रालय पुगेका थिए । केसीले चिकित्सा क्षेत्रका विद्यमान समस्या सहित शिक्षक, इसीडी शिक्षक र बिद्यालय कर्मचारीका समस्या र तलबका बारेमा कुरा उठाएका थिए।
डा. केसीसँगको भेटमा चिकित्सा क्षेत्रका विद्यमान समस्याहरूबारे छलफल भएको मन्त्री पौडेलले बताएका छन् । भेटमा डा. केसीले मन्त्री पौडेललाई सुझाबसमेत दिएको बताइएको छ ।‘चिकित्सा क्षेत्रका विद्यमान समस्याहरूबारे डा. गोविन्द केसीज्यूसँग आज गम्भीर छलफल भएको छ । उहाँका महत्वपूर्ण सुझाबहरूप्रति हार्दिक आभार प्रकट गर्दछु’, मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
इसीडी शिक्षक र बिद्यालय कर्मचारीले सरकारले तोकेको तलब नपाएको बिषयमा ध्यानाकर्षण गराउदै केसीले आधारभूत तहको शिक्षामा होमिएका बालबिकाश शिक्षकलाई तोकेको तलब दिने बाताबरण मिलाउन शिक्षामन्त्री संग आग्रह गरेको बुझिएको छ। जवाफमा मन्त्री पौडेलले समस्या समाधान गरेरै छोड्ने प्रतिबद्दता जनाएका छन्।





