काठमाडौं । शिक्षक सेवा आयोगले भोलिदेखि विभिन्न तहका शिक्षकको चरणवद्ध रुपमा विज्ञापन गर्ने भएको छ । अनलाईनमार्फत विज्ञापन गर्ने र फारम भर्ने तयारी गरेको आयोगले सबै तहको विज्ञापन एकैचोटी खोल्दा प्राविधिक समस्या आउन सक्ने भएकोले चरणवद्ध विज्ञापन गर्न लागेको हो । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले भने ‘हामी अनलाईन गर्ने भनेका छौं । सबै एकैचोटी गर्दा सिस्टममा समस्या आउन सक्ने भएकाले चरणबद्घ विज्ञापन गर्ने योजना बनाएका हौं ।’
उनका अनुसार शिक्षक सेवा आयोगले बुधबार (भोलि) माध्यमिक तहको खुलातर्फको विज्ञापन गर्ने भएको छ । प्राविधिक समस्या नआए बुधबार खुला तर्फको मावि तहमा विज्ञापन गर्ने आयोगले जनाएको छ । आयोगले मंसिरभित्र विज्ञापन गर्ने कार्यतालिका बनाएको र सोही कार्यतालिका अनुसार नै जाने प्रयास भइरहेको आयोगले जनाएको छ । अध्यक्ष रेग्मीले भने ‘केही प्राविधिक समस्याका कारण ढिलाइ भईरहेको हो तर हामी भोलि विज्ञापन खोल्न सकिन्छ भन्नेमा पुगेका छौं । अब प्राविधिक समस्या भएन भने खोल्छौं ।’
मावि तहको विज्ञापन भइसकेकोपछि चरणबद्घ रुपमा निमावि तह र प्रावि तहको विज्ञापन खोलिने उनले बताए । आयोगले पहिलो पटक माध्यमिक तहमा करिब एक हजार ५४२ पदमा आवेदन माग गर्ने भएको छ । त्यस्तैगरी निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र प्राथमिक तहमा १२ हजार ९१२ रिक्त पदमा विज्ञापन खोल्ने तयारी गरेको छ ।





