एजेन्सी । लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकालेको छ । गएराति भएको खेलमा पिएसजीले मोनाकोलाई २–० ले पराजित गरेको हो । पिएसजीलाई सहज जित दिलाउनका लागि दुवै गोल केलियन एमबाप्पेले गरे । खेलको १२औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।
पेनाल्टी बक्समा एन्जल डि मारियालाई डिजव्रिल सिडिवेले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै पिएसजीलाई पेनाल्टी दिएको थियो । ४५औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पिएसजीले जित्यो । यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार





