१७ हजार स्थायी शिक्षकको विज्ञापन खुल्दै, प्राथमिक तहमा मात्रै झण्डै १३ हजार !



काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक माग गर्न लागेको छ । आयोगले १७ हजारभन्दा बढी शिक्षक पदका लागि आवेदन माग गर्ने तयारी गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत साता रिक्त शिक्षक दरबन्दीको फेहरिस्त शिक्षक सेवा आयोगलाई पठाएको छ । आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि केन्द्रसँग सो सङ्ख्या माग गरेको थियो ।

केन्द्रका अनुसार १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएको छ । प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरिएको स्रोतले बताएको छ ।

यसैगरी केन्द्रले शिक्षक बढुवाका लागि पनि विवरण आयोगमा पठाएको छ । केन्द्रका अनुसार प्राथमिक तह पहिलो श्रेणीका लागि ४५२ पद र प्राथमिक तह द्वितीय श्रेणीका लागि एक हजार ६९३ पदमा बढुवा गरिनेछ ।

त्यस्तै निम्न माध्यमिक तह पहिलो श्रेणीमा ७८ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा ४७८ जनाको तथा माध्यमिक तह पहिलो श्रेणीमा १२४ र माध्यमिक तह द्वितीय श्रेणीमा ४८४ जना शिक्षकको बढुवा गरिनेछ ।

यसैबीच, शिक्षक सेवा आयोगका अध्यक्ष मधु रेग्मीले सञ्चारमाध्यमका आएका समाचारहरु गलत भएको दावी गरेका छन् । प्रधानमन्त्रीबाट आयोगलाई दबाब आएको लगायतका आयोगसँग सम्बन्धित समाचारहरु गलत रहेको उनले बताए ।

आयोगका अध्यक्ष रेग्मीले पहिले शिक्षक पदका लागि खुला पदपूर्ति गर्ने वा स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने भन्नेमा आयोग कुनै निर्णयमा नपुगेको बताउँदै भने, “यस बारेमा छलफल भइरहेको छ । कुनै निर्णय भएको छैन । निर्णय भएपछि जानकारी गराउने छौँ ।” उनले आवेदन आह्वान दशैँ अगावै गर्ने भन्नेमा अहिले नै बताउन नसकिने स्पष्ट पारे ।

पछिल्लो समयमा स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा लिएर त्यसको नतिजा सार्वजनिक भएपछि मात्र स्थायी पदपूर्ति गर्नुपर्ने भन्ने विद्यार्थीहरुको भनाइ रहँदै आएको छ भने विगतमा स्थायी अध्यापन अनुमति लिएर खुला प्रतिस्पर्धाको प्रतीक्षामा लामो समयदेखि रहँदै आएकाहरुले पहिले स्थायी पदपूर्तिका लागि आवेदन माग गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार