अब ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब केन्द्र सरकारले खुवाउने !



काठमाडौं । स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिए पछि शिक्षा मन्त्रालयले चासो ब्यक्त गरेको छ ।

सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरू आन्दोलित भएका हुन् । ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ ।

सरकारले स्थानीय तहलाई दिइने अनुदान कटौती गरेर भएपनि ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालय मार्फत तलब खुवाउन अर्थ मन्त्रालय संग छलफल शुरु गरेको शिक्षा मन्त्रालय श्रोतले बताएको छ ।

बजेट विधयेक पास भए पछि दशैँ अगावै ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब उपलब्ध गराउने गरि तयारी थालेको मन्त्रालयको उच्च श्रोतले बतायो ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार