नेपाली सेयर बजारमा बुल साइकलकै ठूलो सूनामी आयाे, अब के हुन्छ ?



काठमाडौं । सेयर बजारमा बुल साइकलकै सबैभन्दा ठूलो गिरावट देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार १२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि नकारात्मक सर्किट ब्रेक पनि लागेको थियो ।

नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणले गर्दा सेयर बजार घटेको भनी हाल विभिन्न माध्यमबाट राष्ट्र बैंकको विरोध भइरहेको छ । सेयर धितो कर्जाको सीमाको विरोध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित १६ बुँदे माग समेत गरेका छन् ।

आज (सोमबार) लगानीकर्ताहरूले राष्ट्र बैंक घेराउ कार्यक्रम गर्ने घोषणा पनि गरेका छन् । नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा त्यसको असर देखिएको छ । सोही कारण राष्ट्र बैंकको यो नीतिको लगानीकर्ताहरूले विभिन्न माध्यमबाट विरोध गरिरहेका हुन् ।

यसअघि पनि नेपाल इन्भेष्टर्स फोरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै अर्थ मन्त्रालय पुगेका थिए । उनीहरूले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जोगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीको वातावरण बनाउन सेयर धितो कर्जाको सीमा तत्काल खारेजीको माग गरेका थिए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा पुगेको छ । नेप्से ३.७० प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ विन्दुमा झरेको छ । कूल २२३ वटा कम्पनीको २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । अर्थसंसारले लेखेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार