काठमाडौं | शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिसँगै १२ हजारभन्दा बढी स्थायी शिक्षकको विज्ञापन गर्न बाटो खुलेको छ। विधिसम्मत प्रतिस्पर्धाबाट सिफारिस भएका व्यक्तिलाई नियुक्त नगर्दा आयोग लामो समयदेखि पदाधिकारीविहीन थियो। सरकारले मंगलबार आयोगमा पदाधिकारी नियुक्त गरेसँगै अब स्थायी शिक्षकका लागि विज्ञापन गर्ने बाटो खुलेको आयोगले जनाएको छ।
अब आयोगको कामकारबाही अगाडि बढाउने बाटो खुला भएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । उनले भने, ‘१२ हजार शिक्षकको रिक्त दरबन्दीको विवरण शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगमा पठाएको छ। केही विषयको पाठ्यक्रम नयाँ बनाउनुपर्नेछ ।’ १४ हजार ७५० शिक्षक दरबन्दी रिक्त भए पनि पाठ्यक्रम तयार नभएकाले १२ हजार शिक्षकको मात्र चाँडै विज्ञापन खुलाइने उनले बताए ।
उनका अनुसार स्थायी शिक्षकका लागि मात्रै नभएर शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा, शिक्षक बढुवा लगायतका सम्पूर्ण काम गर्न बाटो खुलेको छ । आयोगले प्रावि शिक्षकेको विज्ञापन जिल्ला स्तरबाट, निमावि र मावि प्रदेश स्तरबाट खुलाउनेछ । आयोगका नवनियुक्त अध्यक्षमा नियुक्त मधुप्रसाद रेग्मीले आयोगको गरिमा बढ्ने गरी रोकिएका सम्पूर्ण काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।





