काठमाण्डाै | सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ९साउन २० गते, बुधबार० देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।
कम्पनीको आर्थिक अवस्था
सानिमा लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म कम्पनीले कुल १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७६र७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९र८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।
कति आवेदन दिने ?
पछिल्लो समय आईपीओ भर्ने लगानीकर्ताहरूको संख्या एकदमै बढ्दो छ । आईपीओ भर्ने संख्या २० लाख नाघिसकेको छ । हरेक कम्पनीको आईपीओमा मागभन्दा उच्च आवेदन पर्ने गरेको छ । यो आईपीओमा पनि मागभन्दा धेरै आवेदन पर्ने निश्चित छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार माग भन्दा धेरै आवेदन परेपछि हरेक आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने प्रावधान छ । यसकारण कम्पनीको आईपीओमा पनि १० कित्ताको लागि मात्रै आवेदन दिनु उचित हुन्छ ।





