शिक्षक सेवा आयोगकाे अध्यक्षमा पूर्व सचिव मधुप्रसाद रेग्मी, बल्ल पायाे आयोगले पदाधिकारी !



काठमाडौं | सरकारले शिक्षक सेवा आयोगमा पदाधिकारीको नियुक्त गरेको छ । सात महिना अघि गत पुसमा भएको सिफारिसलाई नै मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सदर गरेको हो । अध्यक्षमा पूर्व सचिव मधुप्रसाद रेग्मी र सदस्यहरुमा जनसेवा मावि काठमाडौं, कीर्तिपुरको प्रधानाध्यापकबाट अवकास भएकी नन्दकुमारी महर्जन र शिक्षा मन्त्रालयका पूर्व सहसचिव डा. डिल्लिराम रिमाललाई नियुक्ति गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

दोश्रो पटक संसद विघटन गरेका तत्कालिन प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले खारेज गरेसँगै गठित नयाँ सरकारले आयोगका नयाँ पदाधिकारी नियुक्तिको निर्णय गरेको हो । तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थका कारण सिफारिस भएर पनि आयोगका पदाधिकारी नियुक्ति रोकिएको थियो ।

गत असोजबाट नेतृत्व बिहीन बनेको आयोगमा पदाधिकारी छनौट गर्न ऐनमै भएको व्यवस्थाका आधारमा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित सर्च कमिटिले पदाधिकारी सिफारिस गरे पनि श्रेष्ठको स्वार्थले नियुक्ति भएको थिएन । नियुक्तिमा भएको ढिलाईका कारण नयाँ शिक्षक छनौट र शिक्षकहरुको वृत्ति विकास ठप्प भएको थियो । नियुक्ति सँगै आयोग खोल्ने र शिक्षकहरुको वृत्ति विकास नियमित हुने बाटो खुलेको छ ।

पदाधिकारी हुन ईच्छुकहरुले आफू पदाधिकारी भए पछि चाल्ने नेतृत्वदायी भूमिका सहितको अवधारणा पत्र तथा पाँच बर्षको व्यवसायिक कार्ययोजना समेत बुझाएका थिए । त्यसकै प्रस्तुती र अन्र्तवार्ताका आधारमा उनीहरुको नाम सिफारिस भएको थियो । गत पुष १५ गते भएको आआफ्नो अवधारणा पत्र र व्यवसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा १६ गते सदस्यहरुको, १७ गते अध्यक्षका प्रत्यासीहरुको अन्र्तवार्ता पछि उनीहरुको नाम सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार