काठमाडौं | रत्न मा.वि. तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईले सरकारले भदौको ४ गतेसम्म पनि शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति नगरे आमरण अनसन बस्ने चेतावनि दिएका छन् । लामो समय देखि शिक्षक सेवा आयोगमा पदाधिकारी रिक्त रहेको र सरकारले नियुक्तिमा ढिलाई गरेको भन्दै आमरण अनसन बस्ने चेतावनि दिएका हुन् ।
भट्टराईले पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति तत्काल गर्न, परीचयपत्रको व्यावस्था गर्न र शिक्षकको मर्यादाक्रम निर्धारण गर्न आग्रह गर्दा पनि बेवास्ता भएपछि अनसन बस्न लागेको बताए । प्रधानमन्त्री तथा गृहमन्त्रीले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति तुरुन्त गर्ने बताए पनि पदाधिकारी नियुक्ति नभएपछि भट्टराईले भदौ ४ गतेसम्मको अल्टिमेटम दिएकाछन् ।
भदौ ४ गतेसम्म पनि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति नगरे भदौ ५ गते देखि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । तर प्रधानमन्त्रीको कार्यलयले पदाधिकारी नियुक्ति छिटै गरिने बताएको छ । शिक्षक सेवा आयोगमा पदाधिकारी नहुँदा अध्ययन अनुमतिपत्र(लाईसेन्स), शिक्षक विज्ञापन, शिक्षकको बढुवा लगायत नीतिगत निर्णय गर्नुपर्ने काम रोकिएको छ भने प्रशासनिक माध्यमबाट हुने कामहरु मात्रै भएको छ ।





