ओली र माधव नेपालबीच भोली नै सहमति हुने महेश बस्नेतको दाबी



काठमाडौं । विश्वस्त सूत्रकाअनुसार प्रधानमन्त्री केपी ओलीले भोलि नै नेता माधव नेपालसँग वार्ता गर्ने तयारी गरेका छन् । ओलीनिकट नेता महेश बस्नेत पनि दुई नेताबीच सहमति हुने र पार्टी एक ढिक्का भएर जाने दाबी गर्छन् । उनले पत्रकार ऋषि धमलसँगको कुराकानीमा भनेका छन्–‘म दाबीका साथ भन्छु, अध्यक्ष कमरेड र माधव कमरेडबीच सहमति हुन्छ । आज/भोलि नै उहाँहरुबीच वार्ता हुन्छ ।’

यता, नेता नेपाल पक्षधरले भने ओली पार्टी एकता गर्नेगरि सहमतिमा नआए संयुक्त राजीनामा दिने चेतावनीयुक्त सन्देश बालुवाटारलाई पठाईसकेको छ । माधव नेपाल पक्षधर कम्तिमा पनि २० जना सांसदले बैशाख २७ गते अघि नै संयुक्त राजीनामा दिए ओलीलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । नेपाल पक्षलाई राजीनामा दिनबाट रोक्नको लागि पनि ओलीले नै बढि प्रयत्न गर्नुपर्ने नेपाल पक्षधर नेताहरुको भनाई छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपालसँग एकपटक निर्णायक वार्ता गर्ने भएका छन् । यही बैशाख २७ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले पार्टी एकता कायम राख्नको लागि अधिकतम प्रयास राखेको बताउँदै आएका छन् । तर, नेपाल पक्षले पार्टी एकता कायम राख्नको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन राखेको छ । यसअघि दुई नेताबीच यही बैशाख ९ र १० गते काठमाडौंको होटेल म्यारियटमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार