मास्कले छेक्न नसकेको मुहारको मलिनता। काँधमा थोत्रिएको झोला। हातमा कागजातको पोको। गत सोमबार वैदेशिक रोजगार विभाग, बुद्धनगर अगाडि एक युवक यताउता गरिरहेका थिए। कहिले तल्लो तला, कहिले माथिल्लो तला चहारिरहेका उनी विभागको भुइँतलाको एउटा झ्यालमा पुगेर अडिए। उनी वैदेशिक रोजगारीका नाममा ठगीको उजुरी लिएर पुगेका रहेछन्। कर्मचारी खाजा खान निस्किएको समय परेछ, अलिबेर कुर्नुपर्ने भयो।
उनी हातमा भएका कागजात पल्टाउँदै टोलाउन थाले। दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका-११, खोटाङका २७ वर्षीय प्रज्वल तामाङ हुन् उनी। केही महिनादेखि यसैगरी कहिले प्रहरी प्रशासन त कहिले वैदेशिक रोजगार विभाग धाइरहेका छन्। ‘मलेसियामा काम गर्थेँ, युरोप जाने सोच बनाएँ। यति पैसा भए युरोप छिर्न सकिन्छ भन्ने भएपछि तीन वर्षअघि कामबाट राजीनामा दिएर नेपाल फर्किएँ। सोचेजस्तो केही भएन। बिजोग पो भयो,’ उनका आँखा टिलपिलाए।
मलेसियामा साढे तीन वर्ष दुःख गरेर कमाएको रकम ठगीमा परेर सकियो। अहिले यताउता परेर बिचलित भएका उनी न्यायको खोजीमा भौंतारिएका रहेछन्। प्रज्वल प्लस-टु सकेर मलेसिया गएका थिए। क्यासियर काम गर्थे, कमाइ मासिक ८० हजार रूपैयाँसम्म हुन्थ्यो। मलेसियामा काम र कमाइ दुवै राम्रो भए पनि आफन्तका भनाइले उनको आफ्नो आत्मविश्वास गलिरहेको थियो।
‘मलेसिया राम्रो होइन, त्यस्तो नराम्रो देश किन गएको?,’ आफन्तहरूले प्रश्न तेर्स्याउँथे। यस्तै–यस्तै सुनेपछि प्रज्वललाई आफ्नो काम र कमाइले सन्तुष्ट बनाउन सकेन। उनले युरोप जाने विचार गरे। ‘मसँगै मलेसियामा काम गरिरहेका साथीहरू विस्तारै युरोप छिर्न थाले,’ प्रज्वल भन्छन्, ‘उता कमाइ निकै राम्रो हुने उनीहरूले सुनाए। आफन्तको कचकच पनि सुन्न नपर्ने लागेर म पनि त्यही सोच बनाएर फर्किएँ।’
मलेसियाबाट फर्किएपछि उनले क्यानडामा राम्रो रोजगारी अवसर भएको सुने। त्यहाँ जान सुरूमा तीन लाख धरौटी राख्नुपर्ने रहेछ। उनले बुझाए। छ महिनासम्म पर्खिए तर त्यहाँ काम नमिल्ने भयो। पछि धरौटी बापत बुझाएको रकम फिर्ता पाए।
क्यानडा जान नमिलेपछि उनले जर्मनीको तयारी गरे। त्यहाँ कृषि काममा रोजगारी भनिएको थियो। तर त्यहाँ पनि उनी जान पाएनन्। त्यसपछि पोल्यान्ड पठाउने भन्दै एक म्यानपावर कम्पनीले उनको राहदानी लगायत कागजात लियो। पोल्यान्ड जान ७ लाख लाग्छ भनिएको थियो। तामाङले त्यो रकम तिरे तर म्यानपावरले आश्वासन मात्रै दियो। १८ महिना पासपोर्ट रोकिदियो तर पठाउन सकेन।
पोल्यान्डको कुरा पनि नमिलेपछि प्रज्वलले हरेश खान थालिसकेका थिए। त्यही बेला उनकी भाउजूले माल्टामा रोजगारीको राम्रो अवसर भएको सुनाइन्। आफ्नै भाउजूले भनेपछि माल्टा छिर्न पाइनेमा उनी ढुक्क भए। ‘माल्टा जान साढे ५ लाख बुझाउनुपर्ने भयो। भाउजूले चार महिनाभित्र पठाउने भनेपछि रकम बुझाएँ। चार महिना बिते तर जान पाइनँ,’ उनले सुनाए। त्यसपछि उनलाई चिन्ता लाग्न थाल्यो। भाउजूसँग पासपोर्ट र पैसा फिर्ता मागे।
‘पैसा त कुरै छाडौं, एक वर्षसम्म पासपोर्ट पनि हात परेन। पासपोर्ट र पैसा माल्टा पठाइदिने अर्कै व्यक्तिले लिएको र त्यो व्यक्ति मानव ओसारपसार आरोपमा जेलमा परेको भाउजूले सुनाउनुभयो,’ प्रज्वलले भने। उनका अनुसार ती व्यक्ति जेलबाट निस्किएपछि मात्रै पैसा फिर्ता हुने भन्दै भाउजूले उनलाई आश्वासन दिइन्। केही महिनापछि बल्लतल्ल उनले राहदानी त पाए। तर पैसा भने नदिई भाउजू सम्पर्कबिहिन भएको उनी बताउँछन्।
‘दाइभाउजू नै सम्पर्कबिहिन हुनुभयो। अहिले कता हुनुहुन्छ भन्ने थाहा छैन। माल्टा छिर्ने सपनाले डेढ वर्ष बित्यो, पैसा पनि गुम्यो,’ आफ्नै मान्छेबाट ठगिएका प्रज्वल मसिनो स्वरमा भन्छन्।एकातिर युरोप छिर्ने सपना पूरा भएन, अर्कोतिर दुःख गरेर कमाएको पैसा सकियो। अब युरोप छिर्ने पैसा पनि नपुग्ने भएपछि बरू खाडी मुलुक नै जाने सोचे उनले। यत्तिकैमा प्रज्वलले फेसबुकमा एउटा विज्ञापन देखे। ‘वैदेशिक रोजगार’ नामक फेसबुक पेजमा लेखिएको थियो- युएईस्थित स्पेनिस कम्पनीमा रोजगारीको अवसर। कामः क्यासियर। तलबः मासिक २ हजार २ सय दिराम (७० हजार नेपाली रूपैयाँ)। समयः दैनिक ८ घन्टा, हप्तामा ६ दिन। खान-बस्न कम्पनीले नै दिने।
पहिले मलेसियामा क्यासियरकै काम गरेकाले प्रज्वलको राम्रो अनुभव थियो। विज्ञापनले उनको ध्यान तान्यो। काम नै नहुनुभन्दा जानु बेस ठानेर उनले त्यहाँ उपलब्ध नम्बरमा सम्पर्क गरे।
‘फोन उठाउनेले आफू युएईमा भएको बताए,’ प्रज्वलले भने, ‘उनले मलाई युएईमा राम्रो काम भएको सुनाए। नेपालका साथीहरू मिलेर थुप्रै युवालाई विदेशमा आकर्षक काममा लगाइदिएको पनि भने।’ राम्रो काम सुनेपछि प्रज्वलसँगै उनका पाँच जना साथीले पनि युएई जाने निधो गरे। उक्त कामका लागि उनीहरूलाई प्रतिव्यक्ति ९० हजार बुझाउनुपर्ने भनिएको थियो।
फोनमा कुरा गर्ने व्यक्तिसँग ह्वाट्स एपमा जोडिएर उनीहरूले थप कुराकानी गरे। ‘वर्क पर्मिट’ भन्दै ती व्यक्तिले ह्वाट्स् एपबाटै फोटो खिचेर कागजात पनि पठाइदिएको प्रज्वलले बताए।
‘अनि प्रक्रियाका लागि भन्दै उनले राहदानीको फोटा खिचेर पठाउन लगाए। लागत रकम भने नेपालमै भएका उनका साथीलाई बुझाउन भने,’ प्रज्वलले सुनाए। उनका साथीहरूसँग पैसा थिएन। तामाङले नै सबै साथीको लागत रकम पटक–पटक गरेर नेपालका ती व्यक्तिको बैंक खातामा पठाए, जम्मा चार लाख ४५ हजार रूपैयाँ। पैसा जम्मा भएपछि प्रज्वलले युएईमा भएका व्यक्तिसँग कुराकानी गरे। उनले अफरलेटर आइसकेको र एक साताभित्र सबै प्रक्रिया पूरा गरी युएई जान सक्ने बताए।
प्रज्वल र उनका साथीहरू सबै तयारी गरेर प्रतीक्षा गर्न थाले। एक साता बित्यो, उनीहरू जाने दिन आएन। ‘हामीले उनीहरू दुवैलाई बारम्बार सौध्यौं, उनीहरूले भोलि भोलि भन्दै झुलाउन थाले। त्यसको केही दिनमा उनीहरूले हामी सबैलाई सामाजिक सञ्जालमा ब्लक गरे। सम्पर्कबिहिन भए,’ प्रज्वल भन्छन्, ‘यस्तो पनि होला भन्ने सोचिएन। विदेश जाने लहलहमै विदेशमा कमाएको सबै पैसा सकियो। अब के गर्ने भनेर सोच्नै सकिरहेको छैन।’
वैदेशिक रोजगारीका नाममा ठगी हुने कुरा प्रज्वलले पहिले नसुनेका होइनन्। तर विदेश जाने सपनाले उनलाई सायद केही देख्ने बनाएन, आफ्नै भाउजूबाट ठगिए, सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिको विश्वास गर्दा पुनः ठगिए। रकम बैंक खातामा जम्मा गरेकाले त्यो प्रमाण त उनीसँग छ। तर आफ्नो पैसा फिर्ता हुने हो कि होइन, उनलाई यकिन छैन।
‘पैसा लिने मान्छे सम्पर्कबिहिन छन्। अब त्यो पाइने हो कि होइन टुंगो भएन। दलालको विश्वास गर्दा यता न उता भइयो। कसैलाई विश्वास गर्न नहुने रहेछ,’ उनले भने। यतिका बाबजुद उनी विदेश जाने सोचबाट पछि हटेका छैनन्। उनी भन्छन्, ‘देशमै केही गरौं, भनेजस्तो कमाइ छैन। पैसा फिर्ता आएन भने ऋण खोजेर भए पनि विदेश त जान्छु। तर राम्रोसँग बुझेर, कानुनी प्रक्रिया पूरा गरेर राम्रो काममा मात्र जान्छु।’ सेतोपाटिबाट साभार