जेठको पहिलो साता एसईई, प्रश्नपत्र बनाउने कार्य सुरु !



राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको पहिलो साता गर्ने तयारी गरेको छ । ‘शिक्षा मन्त्रालयले शैक्षिकसत्र जेठसम्म कायम गर्ने निर्णय गरेको छ । अरु कक्षाको जस्तै इसईई पनि जेठमा हुन्छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘एसईई परीक्षा जेठको पहिलो साता गर्ने तयारी छ । बोर्डले मिति छिट्टै तय गर्छ ।’

फारम भर्ने काम सकियो
परीक्षाका लागि फारम भर्ने काम सकिएको उनले बताए । ‘६ गतेसम्म फारम भर्ने समय थियो । अब फारम भर्ने काम सकियो । विद्यालयले फारम भरेर जिल्लामा पठाएको छ’, उनले भने, ‘जिल्लामा इन्ट्री भएपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र निर्धारण हुन्छ ।’

प्रश्नपत्र बनाउन सुरु
परीक्षाका लागि प्रश्नपत्र निर्माणको काम सुरु भएको छ । ‘प्रश्नपत्र निर्माणको काम सुरु भएको छ’, नियन्त्रक खकुरेलले भने, ‘केन्द्रगत रूपमा प्रश्नपत्र छपाइ गरेर पठाउँछौँ ।’ अघिल्ला वर्षहरूमा यो समयसम्ममा प्रश्नपत्र निर्माणको काम सकि्थ्याे । यो वर्ष कोरोना भाइरसका कारण पठनपाठन ढिला गरी सुरु भएकाले प्रश्नपत्र निर्माणमा ढिलाइ भएको हो । अर्कोतर्फ परीक्षा स्थानीय, प्रदेश वा केन्द्र कसले गर्ने भन्नेमा विवाद भएकाले पनि परीक्षाको तयारीमा ढिलाइ भएको हो । कानुन बाधक भएकाले प्रदेशले परीक्षा गर्न सम्भव नभएपछि राष्ट्रिय परीक्षा बोर्डले नै परीक्षाको जिम्मा पाएको हो ।

करिब ५ लाख परीक्षार्थी
परीक्षा नियन्त्रक खकुरेलका अनुसार यो वर्ष करिब ५ लाख परीक्षार्थी हुनेछन् । ‘जिल्लामा इन्ट्री भएपछि परीक्षार्थीको संख्या थाहा हुन्छ’, उनले भने, ‘नियमित र पुरानो गरेर करिब ५ लाख परीक्षार्थी हुन्छन् ।’ गत वर्ष ४ लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए । कोरोनाका कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो । परीक्षा सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिएको थियो । विद्यालयले मूल्याङ्कन गर्दा जथाभावी नम्बर दिएको भन्दै यो वर्ष बोर्डले नै परीक्षा गर्न लागेको हो ।

विद्यार्थीको सिकाइ के हुन्छ ?
विद्यार्थीको सिकाइलाई पूरा गर्न पाठ्यक्रममा समायोजन गरिएको छ । पढ्नैपर्ने कन्टेन्ट पढाउने गरी पाठ्यक्रमको समायोजन गरिएको छ । समायोजन कति प्रतिशत गरिएको भन्ने उल्लेख गरिएको छैन । यद्यपि, शिक्षकले सहजीकरण गर्नुपर्ने कठिन कन्टेन्ट हुन्छ, त्यसलाई एकातर्फ तथा विद्यार्थी आफैँले रेडियो, टेलिभिजन, अनलाइन, अभिभावकबाट सिक्न सक्नेलाई अर्कोतर्फ राखेर पाठ्यक्रमको समायोजन गरिएको छ ।

पाठ्यक्रमको समायोजन र पठनपाठन जेठसम्म हुने भएकाले विद्यार्थीको सिकाइ पूरा गरिने सरोकारवाला निकायले बताएका छन् । ‘जेठमा परीक्षा गर्दा विद्यार्थीको सिकाइ पनि अगाडि बढ्छ । अघिल्ला वर्षमा पनि चैतमा परीक्षा मात्र हुन्थ्यो, पठनपाठन हुँदैनथ्यो,’ एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘अब चैत, वैशाख र जेठमा पनि केही पढाइ हुने भएकाले विद्यार्थीको सिकाइ पूरा गर्न सकिन्छ । जेठमा परीक्षा हुनुु सकारात्मक हो ।’

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने यो वर्ष पूर्ण रूपमा सिकाइ पूरा गर्न कठिन हुने बताए । ‘यो वर्ष पूर्ण रूपमा सिकाइ हुँदैन । सबै विद्यार्थीको पठनपाठन एकैपटक पनि भएको छैन’, उनले भने, ‘सिकाइ उपलिब्ध पनि एकै किसिमको हुँदैन । पाठ्यक्रम समायोजना गरेर जेठसम्म मेकप गर्नुपर्छ ।’

अनि असारदेखि नयाँ शैक्षिकसत्र
जेठमा परीक्षा सकेर असारदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने सरकारको तयारी छ । विद्यालय तहको शैक्षिक सत्र व्यवस्थापन गर्न सरकारले शिक्षा नियमावली संशोधन गरेको छ । कोरोना भाइरसको महामारीका कारण नयाँ शैक्षिकसत्र वैशाखमा सञ्चालन गर्न सम्भव नभएपछि सरकारले नियमावली संशोधन गरेको हो ।

नियमावली संशोधन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिकसत्रको मिति तोक्ने अधिकार पाएको छ । ‘नियमावलीमा शैक्षिकसत्र वैशाखदेखि कायम गर्ने भन्ने थियो’, शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने, ‘विशेष परिस्थिति (कोभिड–१९) का कारण शैक्षिक सत्र परिवर्तन गर्ने प्रावधान सरकारले राखेको छ । अब शैक्षिकसत्रको नयाँ मिति तोकिन्छ ।’ मन्त्रालयले दुईवटा शैक्षिकसत्र असारदेखि सुरु गर्ने गृहकार्य थालेको छ । ‘यो वर्ष र आगामी वर्ष १ असारदेखि शैक्षिकसत्र कायम गर्ने गृहकार्य थालेका छौँ’, सचिव मैनालीले भने ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार