‘ए सरकार ! तेरो मूल्य बृद्धिले मेरो डाढ सेकियो’



काठमाडौं, ६ फागुन । सरकारले एक सातामै दुई–दुई पटक पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ । विहीबार (आज) दिउँसो अनेरास्ववियूले बबरमहलस्थित आयल निगम कार्यालय अगाडि प्रदर्शनसहित धर्ना बसेको हो ।

उनीहरुले मूल्य बृद्धि फिर्ता गर, पेट्रोलियम पद्धार्थमा विद्यार्थी सहुलियत कार्यान्वयन गर, प्रतिगामी सरकारको मूल्य बृद्धि–मुर्दाबाद, मह्रगी भ्रष्टचार नियन्त्रण गर, आयल निगमको आयव्यय पारदर्शी गर, ए सरकार तेरो मूल्य बृद्धिले मेरो डाढ सेकियो’लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

यसका साथै अनेरास्ववियूले प्रदर्शनपछि ज्ञापनपत्रसमेत बुझाएको छ । आयल निगमले पछिल्लो पटक फागुन ४ गते डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो । त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो ।

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रति लिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य ह्वात्तै बढेपछि इन्डियन आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले मूल्य वृद्धि गरेको हो । मूल्य वृद्धिका बाबजुद निगमलाई पेट्रोलमा प्रति लिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको छ ।

अब निगमलाई प्रत्येक १५ दिनमा ८६ करोड ७८ लाख घाटा रहनेछ । हालको मूल्य अनुसार निगमलाई मासिक पौने दुई अर्ब घाटा हुन थालेको छ । विश्व बजारमा तेलको भाउले किर्तिमान कायम गर्न सक्ने प्रक्षेपण गरिएको छ । यसले नेपालमा अझै पेट्रोलियम पद्धार्थको मूल्य अझै वृद्धि हुने देखिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार