हामीतिर फर्कदैछ भनेर प्रचण्डले कू-प्रचार गरे – टाेपबहादुर रायमाझी



काठमाडाैं । नेकपा नेता एवं उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझीले प्रचण्ड समूहमा जान लागेकाे भन्ने प्रचारप्रति आपत्ति जनाउनुभएकाे छ । मन्त्री रायमाझीकाे सचिवालयले आज विज्ञप्ति निकालेर साे प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले निकाल्नुभएकाे विज्ञप्तिमा पदविना एकछिन पनि बस्न नसक्ने केही नेताहरूले कूप्रचार गरेका उल्लेख छ ।

बुधबार काठमाडाैंमा भएको विराेध सभामा पुष्पकमल दाहाल प्रचण्डले अ‍ोली सरकारका दुई जना मन्त्री आफूहरूकाे समूहमा आउन वार्ता गरिरहेको बताउनुभएकाे थियाे । प्रचण्डकाे साे अभिव्यक्तिकै भरमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले मन्त्री रायमाझीकाे नाम जाेडेका थियाे । साेही प्रचारबारे मन्त्री रायमाझीकाे सचिवालयले कडा आपत्ति जनाएकाे हाे ।सरकारकाे लाेकप्रियताबाट आत्तिएर सडकमा बसेका केही नेता र ती नेताबाटै सञ्चालित केही मिडियाले आम जनतामा भ्रम फैलाउन नियाेजित रूपमा प्रचार गरेका विज्ञप्तिमा उल्लेख छ ।

‘मन्त्री टोपबहादुर रायमाझी प्रचण्ड-माधव समूहमा आउँदैछन् भनी गरिएको कू-प्रचार निराशा भएपछिको उपज हो भन्ने हामी ठान्दछौं, दूरदर्शी, लोकप्रिय कार्यहरूबाट अतालिएर मूलधारभन्दा बाहिर सडकमा रहेका र पदबिना रहनै नसक्ने केही नेताहरू र उहाँहरुबाट सञ्चालित केही मिडिया र सामाजिक सञ्जालहरूमा आम जनतामा भ्रम फैलाउन गरी गरिएको दुस्प्रचारप्रति खेद व्यक्त गर्दछौं’ – विज्ञप्तिमा लेखिएकाे छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यकाे पक्षमा मन्त्री रायमाझी रहनुभएको सचिवालयले प्रष्ट पारेकाे छ । भ्रम फैलाउने केही नेताहरुको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित पनि हुन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । केपी ओली नेतृत्वकाे पार्टी र सरकार विकास र समृद्धिकाे यात्रामा अगाडि बढिरहेकाले यस्ता गलत प्रचारका पछि नलाग्न पनि मन्त्री रायमाझीकाे सचिवालयले आग्रह गरेकाे छ ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार