मुख्यमन्त्री शाही बिरुद्धको अविश्वास प्रस्ताबबाट पछि हट्यो नेपाल समुह !



काठमाडौं, २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीबिरुद्ध परेको अविश्वास प्रस्तावबाट माधवकुमार नेपाल पक्षका नेताहरु पछि हटेका छन् । आइतबार शाहीबिरुद्ध यमलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । जसमा नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री ओली र माधवकुमार नेपाल पक्षका १८ नेताले हस्ताक्षर गरेका थिए । तर आज नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का अध्याक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरुबीच भएको छलफलले अविश्वास प्रस्ताबबाट पछि हट्ने सहमति गरेपछि मुख्यमन्त्री शाहीको बहुमत पुगेको छ ।

यसबोरेमा सोमबार बसेको बैठक निष्कर्ष विहीन टुङ्गीएको थियो । सोमबार नै नेकपा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेताहरुलाई अविश्वास प्रस्ताव फिर्ता लिन लगाउन अर्का अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो । सहमतिसँगै नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने भएको छ । आइतबार अविश्वासको प्रस्ताबमा हस्ताक्षर गर्ने १८ नेतामध्ये ७ जना नेपाल समुहको थिए । उनीहरुले हस्ताक्षरमा दिएको समर्थन फिर्ता लिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार