कोरोनाको संक्रमण बढेपछि तत्कालका लागि नेपाली कोरिया पठाउने विषय अन्यौलमा



काठमाडौं १० फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिएस मार्फत कोरिया जान तयारी भएका नेपालीलाई भाइरस नियन्त्रण नभएसम्म कोरिया पठाउने विषय अन्यौल भएको छ । संक्रमणबाट जोगिनका लागि केही समयलाई स्थगित गर्ने कि भन्ने विषयमा छलफल सुरु गर्ने ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले जानकारी दिनुभयो । रोष्टरमा नाम आई कोरिया जान तयारी अवस्थामा रहेका नेपालीलाई तत्काल पठाउने कि नपठाउने भन्ने विषयमा आजै छलफल गरेर ठोस निर्णय गर्ने उहाँले बताउनुभयो ।

उहाँले केही दिन अघि सम्म कोरियामा खासै प्रभाव नदेखिएकाले नेपालीहरुलाई सावधानी पूवर्क रहन सुझाव दिदै कोरिया पठाउदै गरेकोमा अब यस विषयमा सोच्नपर्ने बेला आएको बताउनुभयो । शाखा प्रमुख खनालले कोरियामा रहेका नेपालीलाई सचेत रहन आग्रह गर्दै केही समस्या परेमा कोरिया स्थित नेपाली दूतावासमा सम्पर्क राख्न अनुरोध गर्नुभयो । उहाँले आफुहरु पनि दूतावाससंग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार