चीनको वुहानबाट ४ नेपाली नेपाल फर्किनै मानेनन् , १७५ जना मात्रै नेपाल आए !



काठमाडाैं, ४ फागुन । कोरोना भाइरसको उद्गमस्थल हुबेई प्रान्तबाट १७५ नेपालीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट आइतबार बिहान करिव साढे तीन बजेतिर काठमाडौं ल्याइपुर्याइएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार तथा २/२ जना पर्यटक तथा बालबालिका रहेका छन् । वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, ६ क्रु-मेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १६ चिकित्सकसहितको टोली चीन गएको थियो । निगमको एयरबस ३३० शनिबारै अपरान्ह चीनतर्फ उडेको थियो ।

नेपाल फर्किन दूतावासमा निवेदन दिएकामध्ये १० जना चीनमै रोकिएका छन् । बेइजिङस्थित नेपाली दूतावासकाे अनुसार चार जनाले उतै बस्ने जनाएका छन् । फर्किन तयार ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि आउन पाएनन् । कोरोना भाइरसको कुनै पनि लक्षण तथा संक्रमण नभएको पुष्टि भएकालाई मात्रै नेपाल फर्काइएकाे हाे ।

फर्किन नपाएकाहरुलाई वुहानमै क्वारेन्टाइनमा चिकित्सकीय निगरानीमा राखिनेछ । कोरोना भाइरसको संक्रमण चीनभर फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार