काठमाडौँ — गोरखाको चुमनुव्री गाउँपालिका–६ तुम्जेस्थित उङ्गेलिङ खोलामा शनिबार साँझ ठूलो पहिरो खस्दा बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ।
आइतबार श्री एयरलाइन्सको हेलिकप्टरमार्फत गरिएको हवाई निरीक्षण (हवाई रेकी) का क्रममा पहिरो गएको क्षेत्रमा अझै ढुंगामाटो खसिरहेको र ठाडो खोलाको तीव्र बहावले हिलो र लेदो रुखका टुप्पोसम्म पुगेको देखिएको छ। साहस ऊर्जाका सहायक कम्पनी टाइम्स इनर्जीका प्रबन्ध निर्देशक सुशील थापाका अनुसार पहिरो प्रभावित क्षेत्रबाट कम्पनीको आयोजनास्थल करिब १० किलोमिटर तल पर्दछ।
जलविद्युत् आयोजना र सेन्सरमा क्षति
बाढीका कारण चुमनुव्री–३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प तथा केही उपकरणहरू बगाएको छ। यस्तै, बाढीले आरुघाटस्थित जलमापन केन्द्रको सेन्सरसमेत बगाएर क्षति पुर्याएको छ।
वर्षा विनाकै बाढी, जोखिम टर्यो
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा छिटपुट मात्र वर्षा भएकाले यो बाढी तत्कालीन वर्षाका कारण नभई पहिरोले खोला थुनिएका कारण आएको अनुमान गरिएको छ। बाढीविद् विनोद पराजुलीले भू-उपग्रह तस्बिरका आधारमा तुम्जेमा पहिरो गएको पुष्टि गर्दै बाढी बेनीघाट पार गरिसकेकाले अब तल्लो तटीय क्षेत्रमा उच्च जोखिम नरहेको जानकारी दिए।
महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे थप विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ।












