इमानि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न



इमानि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । इमानि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको मध्य बानेश्वरस्थित धन्यवाद पार्टी प्यालेसमा शनिबार आयोजित सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, लेखापरीक्षण प्रतिवेदन तथा आगामी योजनासम्बन्धी विषयमा छलफल गरिएको थियो।

सभामा आर्थिक वर्ष २०८२/०८३ को आयव्यय विवरण, कोषाध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित बजेट प्रस्तुत गरी छलफल गरिएको थियो। साथै, लेखापरीक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको आर्थिक अवस्था तथा व्यवस्थापकीय कार्यसम्पादनको समीक्षा गरिएको थियो।

साधारण सभामा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिको कार्यप्रगति प्रतिवेदन, सांगठनिक प्रतिवेदन र संस्थाको भावी नीतिसम्बन्धी विषयमा समेत छलफल भएको थियो।

त्यसैगरी, संस्थाको विनियम तथा आन्तरिक कार्यविधि संशोधन, सञ्चालक समिति, उपसमिति तथा व्यवस्थापकको सेवा–सुविधा निर्धारण, संस्था एकीकरण, कार्यक्षेत्र विस्तारलगायत विभिन्न १३ वटा प्रस्ताव कार्यसूचीमा समावेश गरिएका थिए।

सभामा संस्थाको संस्थागत सुशासन, आर्थिक पारदर्शिता, व्यवस्थापकीय सुधार तथा आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। शेयर सदस्यहरूको सहभागितामा संस्थाको विगतको प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल गरिएको जनाइएको छ।

यस अवसरमा संस्थाले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
संस्थाको प्रगति र सञ्चालनमा योगदान पुर्‍याउने शेयर सदस्य, सञ्चालक समिति, सल्लाहकार, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै सभाले संस्थाको आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार