काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। कांग्रेसको महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। महाधिवेशन उद्घाटन समारोहका लागि कांग्रेसले पूर्वसभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो दिएको थियो। तर, निमन्त्रणाको विषयलाई लिएर देउवा पक्षले असन्तुष्टि जनाएको छ।
शनिबार राति देउवा निवासमा कोही नभएको अवस्थामा निमन्त्रणापत्र छाडिएको भन्दै उनका स्वकीय सचिव भानु देउवाले आपत्ति जनाएका थिए। देउवा महाधिवेशनमा सहभागी नहुने निश्चित भएको संस्थापनइतर पक्षका केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक एगराज पोखरेलले बताएका छन्। उनका अनुसार देउवाको सहभागिताबारे अब कुनै अन्योल नरहेको दाबी गरिएको छ।
यस्तै, कांग्रेसले एमाले अध्यक्ष ओलीलाई पनि महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा निम्तो दिएको थियो। तर, ओली पनि कार्यक्रममा सहभागी नहुने एमाले प्रचार विभागले जनाएको छ। ओलीको स्थानमा एमालेका महासचिव शंकर पोखरेल कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको सहभागितालाई लिएर चासो बढेको छ।











