काठमाडौं । म्हेपी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित म्हेपीमा आयोजित सभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र गतिविधि, आर्थिक अवस्था तथा आगामी योजनाबारे सदस्यहरूलाई जानकारी गराएको छ।
संस्थाका सञ्चालक समिति अध्यक्ष रत्न शंकर जोशीको सभापतित्वमा सम्पन्न साधारणसभामा अध्यक्ष जोशीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा संस्थाले वर्षभरि सञ्चालन गरेका विभिन्न गतिविधि, वित्तीय अवस्थासहित संस्थागत प्रगति तथा आगामी दिनमा अघि बढाइने कार्यक्रमहरू समेटिएका थिए।
सभामा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रममाथि छलफल गरिएको थियो। साथै, लेखापरीक्षक नियुक्ति, प्रस्तावित शेयर लाभांश, संस्थाका आन्तरिक कार्यविधि तथा निर्देशिकामा आवश्यक संशोधनलगायतका विषयलाई समेत साधारणसभाको कार्यसूचीमा समावेश गरी छलफल तथा निर्णय प्रक्रिया अघि बढाइएको थियो।
त्यसैगरी, संस्थाको दीर्घकालीन पूर्वाधार विकाससँग सम्बन्धित भवन निर्माण तथा संस्थाको नाममा दर्ता रहेका गैरबैंकिङ सम्पत्ति बिक्रीसम्बन्धी प्रस्तावसमेत साधारणसभामा प्रस्तुत गरिएको थियो। संस्थाको आगामी कार्यदिशा, वित्तीय व्यवस्थापन तथा सदस्यकेन्द्रित सेवाहरूलाई थप प्रभावकारी बनाउने विषयमा पनि सभामा छलफल भएको जनाइएको छ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रजनी अधिकारीले गरेकी थिइन्। साधारणसभा संस्थाको वार्षिक कार्यसम्पादनको समीक्षा, आगामी नीति तथा कार्यक्रम तय गर्ने र सदस्यहरूसँग संस्थाको वित्तीय तथा संस्थागत गतिविधिबारे प्रत्यक्ष छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा सम्पन्न भएको हो।
२०५४ सालमा स्थापना भएको म्हेपी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं महानगरपालिका–१६, नयाँबजार, म्हेपीमा रहेको छ। संस्थाको स्थापना भएको तीन दशकको यात्रासँगै सम्पन्न ३०औँ वार्षिक साधारणसभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि नीति, बजेट तथा कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउने आधार तय गरेको छ।









