क्यारिना बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न



ललितपुर । क्यारिना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा ललितपुरको पुल्चोकस्थित सिद्धार्थ कटेज (धोबीघाट) मा सम्पन्न भएको छ।

सञ्चालक समितिको २६२औँ बैठकको निर्णयअनुसार आयोजित साधारण सभामा संस्थाका अध्यक्ष, सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

सभामा संस्थाका अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट र लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरिएको छ।

साधारण सभामा संस्थाको वित्तीय अवस्था, विगतका गतिविधि तथा आगामी रणनीतिबारे समीक्षा गरिएको थियो। पछिल्ला वर्षहरूमा खराब कर्जा असुली तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै संस्थाको कारोबार सञ्चालन गरिएको जानकारी गराइएको थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेश, नयाँ कानुनी व्यवस्था र नियमनकारी निकायका मापदण्डलाई ध्यानमा राख्दै संस्थाका गतिविधि सञ्चालन गरिएको जनाइएको छ। साथै, सदस्यहरूको बचतको सुरक्षा तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर सहकारीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

आगामी नीति तथा कार्यक्रममार्फत संस्थालाई पारदर्शी, सुरक्षित र दिगो रूपमा अघि बढाउने लक्ष्य लिइएको बताइएको छ। सभामा शेयर सदस्यहरूले विभिन्न विषयमा आफ्ना सुझाव तथा धारणा राखेका थिए।
सभाको अन्त्यमा निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यहरूमध्येबाट प्रतिनिधि चयन गरिएको थियो। विविध विषयमा छलफल तथा शुभकामना आदानप्रदानपछि १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार