काठमाडौं । ताप्लेजुङको खेबाङबाट काठमाडौंमा आई बसोबास गर्दै आएका सर्वसाधारण तथा सदस्यहरूबीच आपसी एकता, सद्भाव र सामाजिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले स्थापित काठमाडौं खेबाङ हातेमालो समाज र पाथिभरा खेबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित संयुक्त साधारणसभाको अध्यक्षता दुवै संस्थाका अध्यक्ष हरिचन्द्र दाहालले गरेका थिए।
खेबाङ हातेमालो समाजको १८औँ साधारणसभा
सभामा काठमाडौं खेबाङ हातेमालो समाजको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा समाजका महासचिव जीवन कुमार बस्नेतले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभाले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटसमेत स्वीकृत गरिएको छ।
आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ। समाजमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।
सभामा कार्यसमिति गठन, कर छुटको प्रमाणपत्रका लागि निवेदनलगायतका विषयमा समेत छलफल भएको थियो।
पाथिभरा खेबाङ सहकारीको १७औँ साधारणसभा
सोही अवसरमा पाथिभरा खेबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ।
सभामा अध्यक्ष हरिचन्द्र दाहालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, भावी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए। सभाले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा अनुमानित बजेट पनि सभाबाट पारित गरिएको छ।
साधारणसभामा नयाँ सञ्चालक समिति गठनसम्बन्धी प्रक्रिया अघि बढाइएको थियो। साथै, संस्थाको विनियम तथा ऋण कार्यविधि संशोधनसम्बन्धी प्रस्तावसमेत पारित गरिएको छ।
शेयर सदस्यलाई सहभागिता तथा खाजा खर्च
साधारणसभामा सहभागी शेयर सदस्यहरूलाई सहभागिता तथा खाजा खर्चबापत प्रतिव्यक्ति १ हजार रुपैयाँ उपलब्ध गराइएको थियो।
दुवै संस्थाको साधारणसभाले आगामी आर्थिक वर्षका लागि पारित नीति, कार्यक्रम तथा बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संस्थागत गतिविधिलाई थप सुदृढ बनाउने तथा सदस्य र समुदायको हितमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






