निक बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव



काठमाडौं । निक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघमा आइतबार सम्पन्न साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष युवराज अधिकारीले गरेका थिए।

साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति, संस्थाको वित्तीय अवस्था, आगामी नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा छलफल गरिएको थियो। सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन छलफलपछि पारित गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा–नोक्सान हिसाब, सन्तुलन परीक्षण तथा नाफा–नोक्सान बाँडफाँड विवरणसमेत सभाबाट अनुमोदन गरिएको छ।

संस्थाका अनुसार उक्त आर्थिक वर्षसम्म शेयर सदस्य संख्या ३०९ पुगेको छ। संस्थाको शेयर पूँजी १ करोड २७ लाख २९ हजार रुपैयाँ रहेको छ भने बचत दायित्व ७ करोड ५२ लाख ९७ हजार ३६१ रुपैयाँ ६६ पैसा पुगेको छ। संस्थाले सदस्यहरूमा ६ करोड ९२ लाख २ हजार ६८४ रुपैयाँ ५२ पैसा कर्जा लगानी गरेको जनाएको छ।

त्यस्तै, संस्थाको नगद तथा बैंक मौज्दात ३ करोड ६० लाख ५८ हजार ९२३ रुपैयाँ ५२ पैसा र कुल सम्पत्ति १० करोड ३० लाख ३ हजार ८४४ रुपैयाँ ६१ पैसा रहेको छ। आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले २१ लाख १० हजार ५१७ रुपैयाँ ६० पैसा खुद नाफा आर्जन गरेको छ।
संस्थाको जगेडा कोषमा ९६ लाख ४१ हजार ८६ रुपैयाँ ५ पैसा र सामाजिक उत्तरदायित्व कोषमा ३ लाख २१ हजार ९० रुपैयाँ २० पैसा रहेको जानकारी सभामा दिइएको थियो।

सामाजिक उत्तरदायित्वमा पनि योगदान

निक बचत तथा ऋण सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिशूली बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ।

यसैगरी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयलाई प्रदान गर्दै आएको २० हजार रुपैयाँ छात्रवृत्ति पनि यसै कार्यक्रममार्फत प्रदान गरिने जानकारी दिइएको छ।

शेयरधनीलाई ८ प्रतिशत लाभांश प्रस्ताव

साधारणसभामा शेयरधनीलाई लाभांश वितरणसम्बन्धी प्रस्तावसमेत प्रस्तुत गरिएको छ। संस्थाले चालु आर्थिक वर्षको मुनाफाबाट शेयर लाभांश कोषमा ८ लाख २५ हजार ४७६ रुपैयाँ २० पैसा छुट्याएको जनाएको छ।
उक्त कोषमा सञ्चित रकमबाट शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। साथै, पूँजी फिर्ता कोषमा रहेको ३ लाख ९५ हजार ७२२ रुपैयाँ ५ पैसा सदस्यहरूलाई वितरण गर्ने प्रस्तावसमेत अघि सारिएको छ।

सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आगामी नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तथा साधारणसभाका निर्णय प्रमाणित गर्न शेयरधनी प्रतिनिधि तोक्नेलगायतका प्रस्तावमा समेत छलफल गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष युवराज अधिकारीले वित्तीय अनुशासन, सदस्यको हित र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सहकारीको सेवा विस्तार गरी संस्थालाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले सदस्यहरूको विश्वास, सहभागिता र सहकार्यकै कारण संस्थाले निरन्तर प्रगति गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा सदस्यकेन्द्रित सेवा, पारदर्शिता तथा सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार