काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी छ। बैठकको सञ्चालन ओली आफैँले गरिरहेका छन्। बैठकको सुरुवातमा अध्यक्ष ओलीले पार्टीका पदाधिकारीहरूलाई धारणा राख्न समय दिएका छन्। स्रोतका अनुसार प्रत्येक पदाधिकारीलाई १५ मिनेट र केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय निर्धारण गरिएको छ।
बैठकमा सुरुमा उपाध्यक्ष विष्णु पौडेलले धारणा राखेका छन्। उनले पार्टी एकताको पक्षमा आफ्नो भनाइ प्रस्तुत गरेको बताइएको छ। यसैबीच, केन्द्रीय सदस्य कर्ण थापाले आफ्नो प्रतिवेदन बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने माग गर्दै निरन्तर समय मागिरहेका छन्। बैठक सुरु भएदेखि नै उनी आफ्नो आसनबाट उठेर प्रतिवेदन प्रस्तुत गर्ने अवसर मागिरहेको स्रोतले जनाएको छ।
थापाले यसअघि हिजोको बैठकमा पनि आफ्नो प्रतिवेदन प्रस्तुत गर्न अनुमति मागेका थिए। तर, अध्यक्ष ओलीले उनलाई प्रतिवेदन प्रस्तुत गर्ने अनुमति नदिएको बताइएको छ। आजको बैठकमा पनि थापाले आफ्नो प्रतिवेदन प्रस्तुत गर्न पाउने वा नपाउने विषयमा चासो बढेको छ।






