इन्द्रकमल बचत तथा ऋण सहकारीको १९औँ साधारणसभा सम्पन्न, कर्जा असुली र नियमित बचतमा जोड



भक्तपुर । इन्द्रकमल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमी–२, लोकन्थली, भक्तपुरको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले असोज ३ गते शनिबार कौशलटारस्थित कौशलटार प्यालेसमा साधारणसभा आयोजना गरेको हो।

संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रा. चेतोनाथ गौतमको अध्यक्षतामा सम्पन्न सभाको शुभारम्भ दीप प्रज्वलनबाट गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष हीरादेवी श्रेष्ठले राष्ट्रिय गान व्यवस्थापनसँगै स्वागत मन्तव्य राखेकी थिइन्।

सभामा अध्यक्ष गौतमले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका विभिन्न चुनौतीका बाबजुद सदस्यहरूको संस्था, सञ्चालक समिति तथा व्यवस्थापनप्रतिको विश्वास कायम रहेको उल्लेख गरिएको थियो।
अध्यक्ष गौतमले संस्थाको वर्तमान सञ्चालक समितिको कार्यकालको अन्तिम वर्ष सुरु भइसकेको जानकारी दिँदै विगतदेखि बाँकी रहेका तथा जटिल बनेका कर्जालाई कानुनी प्रक्रियाबाट असुल गर्ने, संस्थामा रहेको गैरवित्तीय सम्पत्तिको उचित व्यवस्थापन गर्ने र विनाधितो प्रवाह भएका कर्जा असुल गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड, २०८२ अनुसार तोकिएको सीमाभित्र ल्याउने लक्ष्य रहेको बताए।

उनले संस्थाको वित्तीय स्थायित्वका लागि सदस्यहरूले नियमित मासिक बचतमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। संस्थामा समग्र निक्षेपको समस्या नरहे पनि नियमित मासिक बचतको मात्रा अपेक्षाकृत न्यून रहेको भन्दै उनले सदस्यहरूलाई आफ्नो क्षमताअनुसार नियमित बचत गर्न आग्रह गरे। नियमित मासिक बचत सहकारीको दीर्घकालीन विकासको महत्वपूर्ण आधार भएको उनको भनाइ थियो।

सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक रमेश पौडेलले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, कोषाध्यक्ष टेकनाथ पोखरेलले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट र कार्यक्रम प्रस्तुत गरे।
सचिव तथा ऋण उपसमितिका संयोजक कृष्णबहादुर बुढाथोकीले ऋण उपसमितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि शेयर सदस्यहरूले राय, सुझाव तथा मन्तव्य राखेका थिए।

उत्कृष्ट कर्मचारी तथा असल बचतकर्ता र ऋणी सम्मानित
साधारणसभाका अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीका रूपमा व्यवस्थापक जयन्ती आचार्यलाई सम्मान तथा प्रोत्साहन गरेको थियो।
त्यसैगरी, असल बचतकर्तातर्फ शान्ता गिरी र दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो। असल ऋणीतर्फ भरत भारती र गीता खत्रीलाई सम्मान गरिएको थियो।

सभाले प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरू स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ। साथै, साधारणसभाका निर्णय प्रमाणित गर्न १० जना प्रतिनिधि सदस्यसमेत चयन गरिएको थियो।

अन्त्यमा सभाध्यक्ष प्रा. चेतोनाथ गौतमले सहभागी शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा उपस्थित सबैलाई धन्यवाद दिँदै सभा समापन गरेका थिए।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार