हिलटन हाइड्रो इनर्जीले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । ताप्लेजुङमा १२ मेगावाट क्षमताको ‘सुपर काबेली खोला जलविद्युत् आयोजना’ निर्माण सम्पन्न गरी व्यावसायिक विद्युत् उत्पादन गरिरहेको हिलटन हाइड्रो इनर्जी लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको शनिबार सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको २० प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको चुक्ता पुँजी ६८ करोड रुपैयाँ रहेकोमा २० प्रतिशतले हुन आउने १३ करोड ६० लाख रुपैयाँ नगद लाभांशका रूपमा वितरण गरिनेछ। उक्त लाभांश असोजको पहिलो सातादेखि वितरण गर्ने कम्पनीले जनाएको छ।

२०८१ चैत २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको सुपर काबेली खोला जलविद्युत् आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) अनुसारको उत्पादन लक्ष्य नजिक पुग्दै उल्लेखनीय उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणसँग वार्षिक ७ करोड ४३ लाख युनिट विद्युत् खरिदको सम्झौता रहेकोमा आयोजनाले हालसम्म ७ करोड १९ लाख युनिट विद्युत् उत्पादन गरेको छ। यो सम्झौता गरिएको वार्षिक लक्ष्यको ९६.७८ प्रतिशत हो।

कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीका अनुसार आयोजनाले सुख्खायाममा लक्ष्यको १०६ प्रतिशत र वर्षायाममा ९५ प्रतिशत विद्युत् उत्पादन गरेको छ। उत्पादनमा हासिल भएको यो उपलब्धिले कम्पनीको वित्तीय अवस्था थप मजबुत बनाउन सहयोग पुगेको उनले बताए।

यसैबीच, कम्पनीले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयका लागि १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। यसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सेयर निष्कासन गरिने अध्यक्ष कार्कीले जानकारी दिए।

हिलटन हाइड्रोले दीर्घकालीन वित्तीय संरचना थप सुदृढ गर्ने उद्देश्यले दुईवटा जलविद्युत् कम्पनीमा कुल १७ करोड रुपैयाँ रणनीतिक लगानीसमेत गरेको छ। कम्पनीले कालिका इनर्जी लिमिटेडमा ८ करोड ५० लाख रुपैयाँ र हाइड्रो माइलेज लिमिटेडमा ८ करोड ५० लाख रुपैयाँ लगानी गरेको हो। उक्त लगानीबाट प्राप्त हुने प्रतिफलले आगामी दिनमा सेयरधनीलाई थप लाभ दिन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत हिलटन हाइड्रोले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित जलविद्युत् आयोजना, स्थानीय समुदाय तथा पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोगसमेत गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार