काठमाडौं । अग्रवाल युवा मञ्च (ए.वाई.एम), काठमाडौंले आयोजना गर्न लागेको ‘ए.वाई.एम खेल महोत्सव–२०८३’ को तेस्रो संस्करण भदौ २५, २६ र २७ गते सञ्चालन हुने भएको छ। काठमाडौंको विशालनगरस्थित धन्वन्तरी स्पोर्ट्स हबमा तीनदिने खेल महोत्सव आयोजना गर्न लागिएको हो।
खेलकुदप्रति युवाको उत्साह र सामूहिक सहभागिता बढाउँदै खेलकुदका माध्यमबाट युवालाई सक्रिय तथा स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवमा नेपालका विभिन्न स्थानबाट खेलाडी तथा खेलप्रेमीहरूको सहभागिता रहने बताइएको छ।
महोत्सवको पूर्वसन्ध्यामा भदौ २४ गते काठमाडौंको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रको केन्द्रीय भवनमा भव्य कार्यक्रमका बीच खेल महोत्सवको ट्रफी अनावरण गरिने कार्यक्रम रहेको छ। ट्रफी अनावरण कार्यक्रममा समुदायका विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
पाँच विधामा खेलकुद प्रतियोगिता
तीनदिने खेल महोत्सवमा इन्डोर क्रिकेट, इन्डोर फुटसल, ब्याडमिन्टन, टेबल टेनिस, स्विमिङ र पुल लगायतका खेलहरू समावेश गरिएको छ। ब्याडमिन्टन र टेबल टेनिसमा पुरुष, महिला तथा बालबालिका वर्गमा छुट्टाछुट्टै प्रतिस्पर्धा सञ्चालन हुने जनाइएको छ।
त्यस्तै, स्विमिङमा पाँच वर्षमाथिका सबै उमेर समूहका खेलाडीले उत्साहका साथ सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
अग्रवाल युवा मञ्चले मारवाडी समाजका युवाहरूलाई खेलकुदमार्फत सक्रिय र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै नयाँ प्रतिभाको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको जनाएको छ। विभिन्न उमेर समूह र क्षेत्रका खेलाडीलाई एउटै मञ्चमा ल्याई स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने, आपसी सम्बन्ध प्रगाढ बनाउने तथा खेलकुदमार्फत युवाबीच एकता र भाइचाराको भावना अझ बलियो बनाउने महोत्सवको लक्ष्य रहेको छ।
विगतका दुई संस्करणबाट प्राप्त अनुभव, सुझाव र सहयोगलाई आत्मसात् गर्दै यस वर्षको खेल महोत्सवलाई थप व्यवस्थित, सहभागितामूलक र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
युवालाई खेलकुदसँग जोड्ने उद्देश्य
अग्रवाल युवा मञ्च (ए.वाई.एम), काठमाडौं अग्रवाल सेवा केन्द्रअन्तर्गत सञ्चालित युवा संगठन हो। मञ्चले खेलकुदसँगै सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत समुदायका युवालाई नजिक ल्याउने र सशक्त बनाउने कार्य गर्दै आएको जनाएको छ।
मञ्चका अनुसार खेल महोत्सवले युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र सामूहिक एकताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ। आयोजकले महोत्सवलाई सफल बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी, शुभेच्छुक तथा सहयोगीहरूलाई सहभागिता र सहयोगका लागि आह्वान गरेको छ।








