रास्वपाले सांसदको गतिविधि निगरानी गर्न गुगल फर्म बनायो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकमा थप जिम्मेवार र जवाफदेही बनाउन गुगल फर्ममार्फत गतिविधि विवरण संकलन गर्ने व्यवस्था गरेको छ ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार सांसदले संसद् बैठकमा अनुपस्थित हुँदा त्यसको कारण र प्रमाणसहित गुगल फर्म भर्नुपर्नेछ । बैठकमा ३० मिनेटभन्दा ढिलो पुग्दा, उपस्थित भएर बीचमै बाहिरिँदा वा बाहिर गएर पुनः फर्किँदा पनि विवरण भर्नुपर्ने व्यवस्था गरिएको छ ।

मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार फर्ममा सांसदको नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, अनुपस्थित वा बैठक छाड्नुको कारणलगायत विवरण राख्नुपर्नेछ । बिरामी भए उपचार भइरहेको स्थान, निर्वाचन क्षेत्र जाँदा जाने–आउने तालिका तथा विदेशमा हुने औपचारिक कार्यक्रममा सहभागी हुँदा आयोजक, कार्यक्रम र अनुमति पत्रसमेत पेश गर्नुपर्नेछ ।

रास्वपाले संसद् बैठकको उपस्थितिलाई केवल हाजिरीका रूपमा नभई जिम्मेवारी र जवाफदेहितासँग जोड्न खोजेको जनाएको छ ।

२६ साउनको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको र सरकारी विधेयक अघि बढाउने प्रक्रिया रोकिएपछि रास्वपाले सांसदको उपस्थितिलाई थप व्यवस्थित गर्न यस्तो व्यवस्था गरेको हो ।

सांसदहरूलाई पठाइएको निर्देशनमा चार अवस्थामा अनिवार्य रूपमा अनुपस्थिति आवेदन फारम भर्न भनिएको छ—पूरै बैठकमा उपस्थित हुन नसकेमा, ३० मिनेटभन्दा ढिलो उपस्थित भएमा, बैठक बीचमै छाड्नुपरेमा र बैठकका क्रममा बाहिर गएर फर्किनुपरेमा ।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार