वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ ढंगबाट अघि बढाएका छन्। सर्वोच्च अदालतले अघिल्लो आदेश रोक लगाएपछि उनले दुई नयाँ कार्यकारी आदेश जारी गर्दै केही अवस्थाका शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था र ‘बर्थ टुरिजम’माथि प्रतिबन्ध लगाएका हुन्।
नयाँ आदेशअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको र उनीहरूमध्ये एक विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी वा कानुनी रूपमा अयोग्य श्रेणीमा परेमा त्यस्ता शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। साथै, बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’ रोक्न पनि कडाइ गरिने भएको छ।
ट्रम्पले यो कदम आप्रवासन प्रणालीको दुरुपयोग रोक्न आवश्यक भएको बताएका छन्। तर कानुनविदहरूले केही प्रावधान संविधानसँग बाझिन सक्ने चेतावनी दिएका छन्। अमेरिकी सर्वोच्च अदालतले यसअघि नै जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको अघिल्लो आदेश कार्यान्वयन गर्न रोक लगाएको थियो।






