बहुविषयमा स्नातकोत्तर अध्ययन गरेका अधिवक्ता भरतकुमार घिमिरे डीएलए काठमाडौंका सचिव



काठमाडौं । नेपाल लोकतान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) काठमाडौं जिल्ला कार्यसमितिका सचिव अधिवक्ता भरतकुमार घिमिरे बहुविषयमा उच्च शिक्षा हासिल गर्दै कानुनी सेवा, अध्यापन र सामाजिक न्यायको क्षेत्रमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आएका छन्।

दोलखा जिल्लामा जन्मिएका घिमिरेले त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसबाट वातावरण विज्ञान र साहित्यशास्त्र विषयमा प्रथम श्रेणीसहित स्नातकोत्तर उपाधि हासिल गरेका छन्। त्यसैगरी, त्रिचन्द्र बहुमुखी क्याम्पसबाट ग्रामीण विकास विषयमा पनि प्रथम श्रेणीमै स्नातकोत्तर गरेका छन्। उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (एलएलबी) अध्ययन पूरा गरेका हुन्।

शैक्षिक यात्रासँगै घिमिरेले विभिन्न क्याम्पसमा अध्यापन गरेका छन्। विशेषगरी दोलखास्थित शैलुङ क्याम्पसमा अध्यापन गर्नुका साथै सहायक क्याम्पस प्रमुखको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरेका थिए।
हाल उनी कानुन व्यवसायमा सक्रिय छन्। बबरमहलस्थित गौरीशंकर ल फर्म एन्ड लिगल रिसर्च सेन्टरका सञ्चालक रहेका घिमिरेले कानुनी परामर्श तथा सेवा प्रदान गर्दै आएका छन्।

नेपाल लोकतान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) काठमाडौं जिल्ला कार्यसमितिको सचिवमा निर्वाचित घिमिरे न्यायिक आन्दोलनमा सक्रिय नेतृत्व गर्दै आएका छन्। साथै, आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै न्यायमा सबैको पहुँच सुनिश्चित गर्न निरन्तर क्रियाशील रहेका छन्।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार