काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) काठमाडौं जिल्ला कार्यसमितिको पाँचौँ अधिवेशनबाट अधिवक्ता मुकेश सेन्चुरी सदस्य पदमा निर्वाचित भएका छन्। उनी नयाँ कार्यसमितिका सबैभन्दा कान्छा सदस्यका रूपमा निर्वाचित भएका हुन्।
कानुनी पेशा, विद्यार्थी राजनीति, सामाजिक अभियान र खेलकुद क्षेत्रमा सक्रिय सेन्चुरीले लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्। उनले नेपाल ल क्याम्पसबाट बी.ए.एल.एल.बी. (BALLB) पूरा गरेपछि सोही क्याम्पसबाट फौजदारी तथा वाणिज्य कानुन विषयमा एल.एल.एम. अध्ययन गरेका छन्।
नेपाल ल क्याम्पसको विद्यार्थी राजनीतिबाट आफ्नो नेतृत्व विकास गरेका सेन्चुरीले नेपाल ल क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। त्यस्तै, नेपाल बार एसोसिएसनअन्तर्गत नवोदित कानुन व्यवसायी सरोकार समितिको सदस्य सचिवका रूपमा समेत उनले योगदान दिएका छन्।
कानुनी, शैक्षिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय सेन्चुरी खेलकुद क्षेत्रमा पनि उत्तिकै समर्पित छन्। उनी राष्ट्रिय कराते खेलाडीका रूपमा विभिन्न प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै आएका छन्। युवा नेतृत्व, अनुशासन, इमानदारी र सेवाभावलाई आत्मसात् गर्दै उनी कानुन व्यवसायसँगै समाजसेवामा पनि सक्रिय रहँदै आएका छन्।
अधिवक्ता सेन्चुरी सिन्धुपाल्चोक जिल्लाबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्ने पहिलो दलित अधिवक्ताका रूपमा समेत परिचित छन्। उनले सामाजिक न्याय, समावेशी नेतृत्व, समानता र कानुनी सचेतनाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्।
डिएलए काठमाडौंको पाँचौँ अधिवेशनमा सबैभन्दा कान्छा सदस्यका रूपमा निर्वाचित भएपछि कानुन व्यवसायी तथा युवा पुस्ताले उनको नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन्। उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण मतदाता, शुभेच्छुक तथा सहकर्मीप्रति आभार व्यक्त गर्दै डिएलएलाई अझ सशक्त, प्रभावकारी र व्यावसायिक संगठनका रूपमा स्थापित गर्न सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।






